नमोबुद्ध सहकारी लिमिटेडले बचतकर्ताको २ अर्ब रकम अपचलन गरेको आरोप
काठमाडौंमा रहेको नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेको छ।
सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीको रकम अपचलन गरेर अध्यक्ष पदबाट बाहिरिएको आरोप लागेको हो।
२०७२ सालदेखि २०७८ सालसम्म सो सहकारीको अध्यक्ष पद सम्हालेका तामाङ निर्वतमान अध्यक्ष भएपछि सहकारीको रकम अपचलनको तथ्य बाहिरिएको हो।
हाल बागमती प्रदेश सभा सांसद रहेका तामाङले आफू सहकारीको अध्यक्ष हुँदा बचतकर्ताहरूको रकम हिनामिना भएको पाइएको छ। उनले अध्यक्ष पद छोडेलगत्तै केही बचतकर्ताहरूले प्रदेशको राजधानी हेटौंडास्थित सहकारी रजिष्ट्रार कार्यालयमा उजुरी दिएका थिए।
२०७९ पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारणसभाबाट राजकुमार लामालाई अध्यक्ष चयन गर्दै तामाङ बिदा भएका थिए।
२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा नेकपा एमालेको तर्फमा काभ्रेबाट समानुपातिक सांसद निर्वाचित भएसँगै तामाङले सहकारीको अध्यक्ष पद छोडेका थिए। मंसिरमा सांसद बनेका उनले पुसमा सम्पन्न साधारणसभामा यसअघि सचिव रहेका राजकुमार लामालाई अध्यक्ष बनाएर बाहिरिएका हुन्।
तामाङले सहकारीको नेतृत्व छोडेको ६ महिना नबित्दै सहकारीका बचतकर्ताहरू आफ्नो बचत रकम फिर्ताका लागि आन्दोलनमा समेत गरेका थिए।सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारी रजिष्ट्रार कार्यालय, बागमती प्रदेश हेटौंडामा बचतकर्ताहरूले उजुरी दिएका छन्।
२०८० भदौ मनिादेखि चैत्र महिनासम्ममा सहकारीमा आफूले बचत गरेको रकम फिर्ता माग्दै सहकारी रजिष्ट्रार कार्यालयमा उजुरी दिएको पाइएको छ।२०८० भदौ २९ गते ९ जना बचतकर्ताहरूले आफ्नो बचत रकमको फिर्तामा सहजीकरण गरिदिन निवेदन दिएका थिए। यस्तै, २०८० असोज १५ गते ३२ जना बचतकर्ताहरूले आफ्नो २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बचत फिर्ताको लागि सामूहिक उजुरी दर्ता गराएका थिए।
यसरी हालम्म सामूहिक र एकल गरी यस सहकारीको अपचलन विरुद्ध ४ वटा उजुरी परेको सहकारी रजिष्ट्रर कार्यालयका कानुन अधिकृत मनोज गुप्ताले जानकारी दिए।त्यसो त, यस नेसनल नमोबुद्ध सहकारीले बचतकर्ताको २ अर्ब रुपैयाँ अपचलन गरेर फिर्ता नदिएको आरोप खेपिरहेको छ।
यता, बागमती प्रदेश सभा सांसद समेत रहेका सहकारीका तत्कालीन अध्यक्ष ज्ञानबहादुर तामाङ आफूले सहकारी सञ्चालन गर्दा कुनै समस्या नै नभएको जिकीर गर्छन्। आफूले छोडेपछि भएको अपचलन र बचत फिर्ताको विषयमा आफ्नो कुनै हात नहुने उनको दाबी छ।
तामाङले भने, ‘मैले २२ औं साधारणसभाबाटै छोडेको थिएँ। वर्तमान अध्यक्ष राजकुमार जी हुनुहुन्छ। उहाँको नाम कतै जोडिएको छैन। जता पनि मेरै नाम आउनु नै गलत हो।’
उनले थपे, ‘सहकारी अहिले पनि सञ्चालनमै छ। सहकारी विभागलाई बुझाएको रिर्पोट हेर्ने हो भने पनि जम्मा १ अर्ब ३० करोड बराबरको मात्रै उक्त सहकारीको पुँजी हो। जताततै २ अर्ब हिनामिना भयो भन्दै आउनुमा नै आपत्ति छ। सहकारीको सम्पत्ति त्यती पुगेको छैन, जति अपचलन भयो भन्ने हल्ला फैलिएको छ।’
प्रतिक्रिया