हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण

विभिन्न मितिमा हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १७ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सातदोबाटो, पुल्चोक, मंगलबजार, टिकाथली, जगाती, ठिमी, ढल्को, बौद्द, माकलबारी, एयरपोर्ट, तिनपिप्ले, महाराजगञ्ज, बलम्बु, गोकर्णेश्वर, मुलपानी, बालाजु र महादेबटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २५ ओटा सहित १७६ ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १४ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाएका २५ ओटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९\८० मा ४९९ ओटा र ०८०\०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।