तिहारका लागि ४८ हजार प्रहरी ड्युटीमा
दशैं, तिहार र छठलगायत ठूला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ ।
प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको सुरक्षा योजना बनाएको छ र कार्यानवयन गर्दै आइरहेको छ ।
तिहार भन्नसाथ रंग र बत्तीको चाड हो र दाजुभाई, दिदीबहिनीको भेटघाट हुने पर्व पनि हो । त्यसैले मानिसहरुको आवतजावत बाक्लो हुनेगर्छ । जसका कारण सडकमा चेकजाँच गर्ने मापसे, लापसे गरेको जाँच गर्ने अनियन्त्रित किसिमले सवारी चलाउने जस्ता गतिविधिहरुलाई विशेष रुपमा हेरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दानबहादुर कार्कीले बताए ।
‘नियमित रुपमा ट्राफिक प्रहरी मार्फत निगरानी बढाएका हुन्छौँ । मद्दतका रुपमा सिभिल प्रहरी पनि खटाइएको हुन्छ । मेला, भीडभाडमा लुटपाट वा चोरी हुने, झगडा हुने भएकाले त्यस्ता ठाउँमा प्रहरीको निगरानी हुन्छ । त्यसलाई यान्त्रिक किसिमले सीसी टिभीमार्फत वा ड्रोनमार्फत पनि निगरानी गरिरहेका छौँ ।’ प्रवक्ता कार्कीले भने ।
तिहारमा देउसीभैलो खेल्ने, रमाइलो गर्ने, रातिसम्म बसेर होहल्ला गर्ने जस्ता क्रियाकलाप हुने हुनाले रातिको गतिबिधिलाई निश्चित समयसम्म निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिले आफ्नो ठाउँ, अवस्था हेरेर, कुनै ठाउँमा अलि बढि समय र कुनै ठाउँमा कम समय हेर्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।
‘हामीले दशैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौँ । अति आवश्यक, बिरामी बाहेकलाई बिदा दिइएको छैन । दशैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिए भने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन् । बिदा नदिएपछि सबै नै परिचालित हुने थियो ।’ उनले भने l
‘अहिले नेपालको सुरक्षा सामान्य छ । घटना, दुर्घटना नहुन् भन्ने हिसाबले पूर्व सतर्कता पनि अपनाएको छ । तिहार बत्तिको चाड भएको हुनाले आगलागीको घटना हुने, चोरी हुने, लुटपाट हुने, महिलाहरु माथि दुर्व्यवहार हुने जस्ता घटना हुनाले आमनागरिकहरुले नै यसलाई सभ्यता परीक्षाको रुपमा लिएर सहयोग गर्नु हुनेछ । चाडको सभ्यता र मूल्य, मान्यताको सुरक्षा गर्दै सुरक्षित भएर तिहार मनाउन सक्छौँ । यसको साथै सबैलाई सभ्य भएर चाड मनाउन आग्रह गर्न चाहन्छु ।’ उनले भने l
प्रतिक्रिया