रविका अवैध कारोबारका हिसाबमा प्रहरी व्यस्त, ९० दिन थुने पनि अनुसन्धान सक्न मुस्किल

सुन्नुहोस्

काठमाडौँ, १४  कात्तिकः पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको  हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका आर्थिक कारोबारका विवरण देखेर अनुसन्धानमा खटिएका प्रहरी र सरकारी वकिल नै छक्क परिरहेका छन् । उनले पछिल्ला दस वर्षको अवधिमा कम्तीमा ५० करोड रुपैयाँबरबारको शंकास्पद कारोबार गरेको पाइएको छ ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि हिरासतमा लिइए पनि उनको खास मुद्दाचाहिँ सम्पत्ति शुद्धीकरण हुने भएको छ । उनले नेपालबाट अमेरिका रकम पठाएकोदेखि स्रोत नै नखुलेको रकमको ठूल्ठूलो कारोबार नेपालमै पनि गरेको पाइएको छ । त्यसैले उनलाई कम्तीमा ९० दिन हिरासतमा राखे पनि अपुग हुने भएकाले कसरी अनुसन्धान सक्ने भनेर टाउको दुखाइ भइरहेको अनुसन्धानमा संलग्न एक अधिकारीहरुले बताएका छन् ।  

सहकारी ठगी र संगठित अपराधअन्तर्गत बुटवलको सुप्रिम र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाउँदै छ । देशका प्रमुख सहरहरूमा खोलिएका जीबी राई नेतृत्वका पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ गैरकानुनीरूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले नै देखाएको छ । 

यी पाँच सहकारीमध्ये चारवटामा केही प्रतिवादीविरुद्ध अदालतमा पहिला नै मुद्दा दायर भइसकेका छन् ।  तर ती कुनै पनि मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । अहिले भने प्रहरीले यसअघि मुद्दा दायर भइसकेकामा पूरक अभियोगपत्र अदालत लैजाने तयारी गरेको छ भने जाहेरी परेर पनि अनुसन्धान नै नगरी राखिएका फाइलसमेत अहिले खोलेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन्। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

यस्तै जीबी समूहकै चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको पनि अनुसन्धानको क्रममा रहेकाले यसमा पनि लामिछाने तानिने भएका छन् ।

वीरगन्जको सानो पाइला सहकारीबाट ८ करोड बढी गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय छानबिनले देखाएको छ । यस प्रकरणमा दोस्रो चरणको अनुसन्धानमार्फत अब रवि लामिछाने, छविलाल बन्जाडेसहितलाई प्रतिवादी बनाउने प्रहरीको तयारी छ । 

एकपछि अर्को प्रकरणको अनुसन्धान अघि बढेपछि लामिछानेको हिरासत बसाइँ यसै पनि लम्बिने नै छ । कास्की प्रहरीले अनुसन्धान सकेपछि बुटवल लैजाने र त्यहाँ सुप्रिम सहकारी ठगीको अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमतिसमेत लिइसकेको छ ।

बन्जाडेलाई बुटवल लगेर बयान गराइसकिएको छ । अब पालो रविकै रहेको छ । रविको ‘कोर टिम’ मा रहेर काम गरिरहेका रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीविरुद्ध पनि सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।

यसले उनीविरुद्धको संठगित अपराधसम्बन्धी अभियोग पनि पुष्टि हुने अनुसन्धान अधिकारीहरु बताउँछन् । किनभने रविले आफ्ना निकटस्थहरूलाई विभिन्न भूमिकामा संलग्न गराई संगठित तवरले रकम ठगी गरेको पाइएको छ । सबद्ध कसुरका रूपमा सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढ्ने भएपछि अब रवि राजनीतिमा सक्रिय हुने गरी फर्किने सम्भावना पनि क्षीण देखिएको छ ।

त्यसकारण सडकमा आन्दोलन गरिरहेका रास्वपाका युवा नेता तथा कार्यकर्ताको भविष्य समेत कहिलेसम्म यसरी बित्ने हो भने चिन्ताको विषय बनेको छ । सडकमा आन्दोलन गरेका भरमा अदालतले फौजदारी कसुरमा उन्मुक्ति दिँदैन भन्नेसम्मको सामान्य ज्ञान पनि नभएका ती युवाहरुलाई कसै न कसैले राम्रोसँग प्रशिक्षित पनि गर्नुपर्ने देखिएको छ ।

र रवि थुनिएको विषय राजनितिमा नआउँदै गरेका क्रियाकलाप भएकाले रास्वपा सभापतिका रुपमा रिहाइको माग गर्नु पनि उचित नहुने कुरा उनीहरुले बुझ्न सकेको देखिएन ।  यो कुरा पनि बुझाउनु आवश्यक देखिएको छ ।