काग तिहारको अवसरमा रमेश दुलालले ‘२१औँ काग सम्मेलन’ गर्न
काग तिहारको अवसरमा बुधवार बिहान ‘२१औँ काग सम्मेलन’ गर्न लागिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले उक्त सम्मेलन गर्न लागेका हुन् ।
राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा हुन लागेको सम्मेलन बुधवार बिहान साढे ५ बजेका लागि तय भएको दुलालले बताए । उनका अनुसार नारायणहिटीको दक्षिणी गेट नजिक हुने उक्त सम्मेलनमा कागको दुरुस्त आवाज निकालेर सयौँ कागलाई भेला पार्ने लक्ष्य लिइएको छ ।
‘विगत वर्षमा झैँ यो वर्षपनि सम्मेलन गरेर कागलाई भेला गराउन लागिएको छ । यो मेरो २१ औँ काग सम्मेलन हो’, दुलालले भने। ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले थपे ।
कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।
प्रतिक्रिया