सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक बढेको जनाएको छ । 

सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य–खोजी मिसनले प्रकाशित गरेको नयाँ प्रतिवेदनमा  बालबालिकाहरू दुर्व्यवहारको सिकार भइरहेका र महिला र युवतीहरू यौन दासत्वका लागि अपहरण भइरहेको जनाएको छ । 

“सुडानमा अहिले कुनै सुरक्षित स्थान छैन”, अनुसन्धानका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले एक विज्ञप्तिमा बताउनुभयो ।

देशको वास्तविक शासक अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको सुडानी सेना (एसएएफ) र उहाँको पूर्व सहायक मोहम्मद हमदान डाग्लोको नेतृत्वमा रहेको अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच सन् २०२३ को अप्रिलदेखि युद्ध चलिरहेको छ। 

सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।
 
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले सोमबार सुडानले भोकमरी, हिंसा, रोग र अकथनीय अत्याचारको “दुःस्वप्न” सहिरहेको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार युद्धका कारण करिब ११.३  मिलियन मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।  दुई करोड ५० लाखभन्दा बढी मानिसहरू तीव्र भोकमरीको सामना गरिरहेका छन् । 

एसएएफ, आरएसएफ र यसका सहयोगीहरुले “ठुलो मात्रामा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेका छन्, जसमध्ये धेरै युद्ध अपराध र मानवता विरुद्धको अपराध हुनसक्ने मिसनको निष्कर्षले जनाएको छ । 

“सुडानमा हामीले दस्तावेज गरेको यौन हिंसाको मात्रा आश्चर्यजनक छ”, तान्जानियाका पूर्व मुख्य न्यायाधीश ओथम्यानले भन्नुभयो , “कमजोर नागरिक, विशेष गरी सबै उमेरका महिला युवतीहरूले सामना गरिरहेको अवस्था चिन्ताजनक छ र तत्काल सम्बोधनको आवश्यकता छ ।”

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले सन् २०२३ को अक्टोबरमा सुडानका लागि ओथम्यानको अध्यक्षतामा तीन सदस्यीय मिसन स्थापना गरेको थियो ।