बंगलादेशसँग बदला भन्दा पनि उपाधि जित्नेगरी खेल्छौं: कप्तान एञ्जिला
नेपाल लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार बंगलादेशसँग भिड्दै छ । यसअघि पाँचपटक फाइनल पुगेर उपाधिविहीन नेपालले बुधबार साविक विजेता बंगलादेशसँग खेल्न लागेको हो ।
गत संस्करणमा घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदा नेपाल उपाधिविहीन बनेको थियो । यसपटक फेरि यी दुई टोली दशरथ रंगशालामा नै आमनेसामने हुँदै छन् । यसपटक नेपाली टोली उपाधिको अवसर खेर नफाल्ने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन् । उपाधि भिडन्तको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्जिलाले सधैँ फाइनलमा हार्दै आए पनि यसपटक अवसर नगुमाउने विश्वास व्यक्त गरिन् ।
उनले बंगलादेश धेरै राम्रो टोली भए पनि आफूहरू विपक्षीलाई चुनौती दिन तयार र सक्षम रहेको बताइन् । उनले सेमिफाइनलमा अहिलेसम्मकै धेरै समर्थकको साथ पाएको स्मरण समेत गरिन् ।
अहिलेको पुस्ताले पनि जित्न नसके नयाँ बलियो टोली निर्माणका लागि ५–१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । त्यसैले पनि आफूहरू उपाधि जित्ने यो राम्रो अवसर गुम्न नदिने उनी बताउँछिन् ।
गत संस्करणमा बंगलादेशसँग पराजित भएको स्मरण गर्दै उनले यसलाई बदलाका रूपमा भन्दा च्याम्पियन बन्ने अवसरका रूपमा लिने उनले बताइन् ।
नेपालले साविक विजेता बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६ः३० बजे खेल्दै छ । गत संस्करणमा नेपालमाथि ३–१ को जित निकाल्दै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया