बहुप्रतिक्षित फिल्म ‘भुल भुलैया ३’ले एडभान्स बुकिङमा कति कमायो ?

 कार्तिक आर्यनको बहुप्रतिक्षित फिल्म ‘भुल भुलैया ३’ रिलिज हुन अझै चार दिन बाँकी रहे पनि अग्रिम बुकिङमा फिल्मले उत्कृष्ट सुरुवात गरेको छ ।

दीपावलीको चाडपर्व र यसअघिका हिट फिल्मका कारण यसपटक पनि ‘भुल भुलैया’ सिरिजले बक्स अफिसमा धमाका मचाउने तयारी गरिरहेको छ । अजय देवगनको ‘सिंघम अगेन’ जस्ता ठूला फिल्मसँग ठूलो टक्कर भए पनि कार्तिकको यो हरर कमेडी फिल्मको उत्साह भने रोकिने देखिएको छैन ।

ठूला चलचित्र जस्तै ‘भुल भुलैया ३’ को पनि रिलिजको एक साताअघि नै अग्रिम बुकिङ सुरु भएको छ । तर, यसपटक ‘सिङ्घम अगेन’सँगको भिडन्तका कारण हलमा शोको संख्याबारे छलफल चलिरहेको छ । आज वा भोलिसम्म देशभरका शोहरू अग्रिम बुकिङका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

टिकट बुकिङ हिजो बिहानैदेखि मुम्बई र दिल्ली-एनसीआर जस्ता ठाउँहरूमा सुरु भएको छ, यद्यपि शोहरू अझै मुख्य सिनेमा चेनहरूमा सूचीबद्ध छैनन्, तर साना सिनेमाघरहरूमा बुकिङ पूर्ण रूपमा भइरहेको छ।

अहिलेसम्मको तथ्यांकअनुसार बिहान ९ः३० बजेसम्म ‘भूल भुलैया ३’ ले भारतीय बक्स अफिसमा अग्रिम बुकिङबाट ४८ लाख रुपैयाँ कमाएको छ । १७ हजार भन्दा बढी टिकटहरू बिक्री भइसकेका छन् ।

हाल शोको संख्या लगभग १ हजार ३० रहेका छन्, सबैभन्दा बढी कमाई गुजरातबाट भएको छ, जहाँ १२ लाखको टिकट बिक्री भएको छ भने ११ लाखका साथ दोस्रो स्थानमा महाराष्ट्र रहेको छ । फिल्मको शुरुवातमा नै यस्तो उत्तिकै प्रतिक्रिया देख्दा ‘भुल भुलैया ३’ बक्स अफिसमा धमाका गर्न तयार रहेको देखिन्छ ।