रविलाई भ्रष्टाचारी भनेको छैन : सांसद प्रसाईं

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानुनभन्दा माथि कोही नहुने बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सो कुरा बताएकी हुन् । 

उनले भनिन्, “कानुन त सबैलाई लाग्नुपर्‍यो नि । सरकारले रवि लामिछानेलाई भ्रष्टाचारी भनेको छैन । कानुनभन्दा माथि कोही छैन, पर्खनुपर्छ ।”त्यस्तै, नेपाली कांग्रेसकै सांसद हृदयराम थानीले विभिन्न समयमा उठेको भ्रष्टाचारका काण्डहरूको अवस्थाका बारेमा प्रश्न गरेका छन् । 

उनले भने, “भ्रष्टाचारका काण्ड उठेको छ । गिरिबन्धु कहाँ पुगेको छ ? क्यानटोन्मेट कहाँ पुगेको छ ? यति, ओम्नी कहाँ पुग्यो ?” 

उनले अवस्था बदल्न नसकिएको विषयमा चासो व्यक्त गरे । उनले भने, “व्यवस्था बदल्यौँ, अवस्था बदल्न सकेका छैनौँ । जनता निराश छन् । चिनजान छैन भने कागज सर्दैन । फाइल सर्दैसदैन । सांसदको अवस्था यो छ, जनताको के होला ?”