फिल्म ‘१२ गाउँ’ अमेरिकामा पनि प्रदर्शन हुने

हाल तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘१२ गाउँ’ अमेरिकामा पनि प्रदर्शन गरिने भएको छ । यो फिल्मलाई लिएर दर्शकको व्यापक माग बढेपछि अमेरिकाको विभिन्न सहरहरुमा प्रदर्शन गर्न लागिएको हो ।

वितरक कम्पनी इ-पिक इन्टरटेनमेन्ट र र एभरेष्ट इन्टरटेनमेन्टका अनुसार यो फिल्म आगामी नोभेम्बर २ अर्थात् कात्तिक १७ गतेबाट अमेरिकाको १६ बढी सहरमा एकसाथ प्रदर्शन हुन लागेको हो । फिल्मलाई अमेरिकामा फिल्म बक्स अफिसमै रिलिज गरिने वितरक अभिजित राई र रमेश भट्टले जनाए । 

दशैंको फूलपातीबाट प्रदर्शनमा आएको फिल्म प्रदर्शनअघि विदेश राइट्स खासै बिक्री हुन सकेको थिएन । तर, नेपालमा यो फिल्म ब्लकबस्टर भएपछि विदेशमा माग बढेसँगै यसअघि जापान, दुबई, क्यानडा, माल्टा, कोरिया, लेबनन, अष्ट्रेलिया जस्ता देशमा बिक्री भइसकेको छ ।

एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई अभिनेता विराज भट्टले निर्देशन गरेका हुन् । फिल्ममा विराज र उनका छोरा समीर भट्टका साथमा न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, दीया मास्केलगायतका कलाकारहरुको अभिनय छ ।