यु–१७ एसियन कप छनोट : जितबिहीन घर फर्कियाे नेपाल

नेपाल एएफसी यु–१७ एसियन कप छनोटमा जितबिहीन बाहिरिएको छ। समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएको नेपालले प्रतियोगितामा एक अङ्क पनि जोड्न सकेन। 

दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा नेपाल मंगोलियासँग १–० ले पराजित भएको हो। चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अङ्कबिहीन रह्यो। नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएपनि अन्तिम खेलमा अङ्क जोडेर सान्त्वना जितको खोजिमा थियो। 

समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९–२ तथा घरेलु टोली कतारसँग ५–० ले पराजित भएको थियो।

छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यु–१७ एसियन कपका स्थान बनाउनेछन्। आयोजकको हैसियतमा साउदी अरेबिया स्वतः छनोट भइसकेको छ।