इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका शान्ति सैनिकलाई लक्षित गरि आक्रमण हुन थाले, नेपाली सैनिक फिर्ता ल्याउने तयारी

काठमाडौँ, १२ कात्तिकः प्रधानसेनापति अशोकराज सिग्देलले इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका शान्ति सैनिकलाई लक्षित गरि आक्रमण हुन थाले नेपाली सैनिक फिर्ता ल्याउने कार्ययोजना तयार रहेको बताएका छन् । तर उनले अहिले नै नेपाली सैनिक फिर्ता गरिहाल्नुपर्ने अवस्था भने नरहेको प्रष्ट पारेका छन् ।

रक्षा मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका ८७७ नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको बताए ।इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको इस्लामिक विद्रोही संगठन हिजबुल्लाहमाथि १५ असोजदेखि स्थल कारबाही समेत थालेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसंघीय मिसनलाई दक्षिण लेबनानबाट हटाउन समेत चेतावनी दिएका थिए । तर राष्ट्रसंघले शान्ति स्थापनाका लागि खटिएको सैनिक फिर्ता नहुने जवाफ दिएको छ । यही कारण सो क्षेत्रमा तनाव बढेको छ ।

नेपाली शान्ति सैनिकहरु गोली हानाहान भइरहेकै स्थानमा रहेपनि दुवै पक्षले शान्ति सैनिकलाई लक्षित गरेर कुनै कारबाही नगरेको प्रधानसेनापति सिग्देलले बताए ।‘म आफैं पनि त्यहाँ जवान, कमाण्डरहरुसँग सम्पर्कमा हुन्छु, यूएन हेडक्वार्टरसँग पनि हामी प्रत्यक्ष सम्पर्कमा छौं’, उनले भने, ‘हामी समानान्तर रुपमा द्वन्द्वरत पक्षसँग पनि समन्वयमा हुन्छौं । त्यो हिसाबले हेर्दा नियतवश हाम्रो फौजलाई अफ्ठ्यारो पार्ने स्थिति सिर्जना हुने सम्भावना धेरै कम छ ।’

युद्धग्रस्त क्षेत्रमा दुर्घटनावश केही कुराहरु हुने सम्भावनालाई नकार्न नसकिने भन्दै उनले बंगलादेश र इन्डोनेसियाका गरेर ४ जना सैनिक घाइते भएको जानकारी दिए ।‘बाहिर समाचारमा यूएनको एरियामा हमला भयो भनेर आउँछ । तर, तिनीहरु एक्सिडेन्टल हो । यूएन फोर्सलाई नै टार्गेटेड बम्बिङ भएको छैन’, सिग्देलले थपे, ‘त्यसको अर्थ के हो भने अहिलेसम्म दुवै पक्षले यूएनको उपस्थितिलाई स्वीकारेका छन् । त्यो हुनाले अहिलेसम्म हामी सुरक्षित छौं ।’

लडाइँ बढ्ने स्थितिमा के गर्ने भन्ने विषयमा संयुक्त राष्ट्रसंघको मुख्यालयले त्यसको योजना बनाएको उनले बताए । ‘त्यस्तो अवस्थामा नेपाली सेनाका तैनाथ फौजलाई कसरी फिर्ता ल्याउने वा कसरी सुरक्षित स्थानतर्फ लैजाने भन्ने योजना तयार गरेका छौं’, प्रधानसेनापति सिग्देलले पत्रकार सम्मेलनमा भने ।

अहिले इजरायल–लेबनानको सीमा क्षेत्रमा खटिएका शान्ति सैनिकका लागि लेभल थ्री सुरक्षा रणनीति लागू गरिएको छ । यसमा शान्ति सैनिकका अपरेशलन गतिविधिहरु ठप्प रहन्छन् भने सैनिकहरु बंकरमै बस्नुपर्ने हुन्छ ।इजरायल–सिरियाको सीमा क्षेत्रमा पनि ५२ जना नेपाली शान्ति सैनिक कार्यरत छन् ।