विश्वकप लिग–२ : अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमायाे

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा २९१ रन बनाउँदै ३ विकेटको जित निकालेको हो ।अमेरिकाको जितमा शायन जहाँगीरले शतक प्रहार गरे। उनले ९७ बलमा १०४ रन बनाएका हुन्। मोनाङक पट्टेल र हरमित सिंहले अर्धशतक बनाए।

नेपालका लागि सन्दीप लामिछाने नचलेको बलिङ लाइनमा कुशल भुर्तेलले चार विकेट लिए। ६ ओभर बलिङ गर्दा मात्र २३ रन खर्चिएर उनले चार विकेट लिएका हुन्। सोमपाल कामीेले दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९६रनको शानदार अर्धशतकीय इनिङ पूरा गरेका थिए। उनले ७५ बलमा ८ चौका र तीन छक्का हिर्काएका थिए। नेपालका ओपनरद्वय अनिल शाह र आशिफ शेखले अर्धशतक बनाए। अनिलले ५ चौकासहित ५६ रन बनाउँदा आशिफले ७ चौका र १ छक्का हिर्काउँदै ५२ रन बनाए। आरिफ शेखले ३७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
योसँगै नेपालले लिग २ मा ९ खेलमा सात खेल गुमाएको छ। अमेरिका भने १० खेलमा सात जित निकालेको छ। तीन अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ भने अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ।