कप्तानले माफी मागेपछि थाइ एयर एसियाको जहाजलाइ नेपालले ४ घण्टापछि छाड्यो

अनुमति नलिई नेपाल आएको थाइ एयर एसियाको जहाजका कप्तान (पाइलट इन कमाण्ड)ले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ घण्टा नियन्त्रणमा लिएको जहाजलाई छाडेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, थाइ एयर एसियाको आइतबार नेपाल आएको एयरबस ए३२० जहाजका कप्तान माथावाज अफिरातनाथापोंगले माफी मागेपछि उक्त जहाजलाई ४ घण्टापछि साझ ६:५७ बजे बैंककका लागि छाडिएको हो। 

‘नेपाली एजेन्ट कम्पनी युनिभर्सल टुर्स एण्ड ट्राभल्सले उडान अनुमति रहेको भने/ काठमाडौं आएका हौँ भनेर कमान्डर पाइलटले लिखित माफी मागेपछि जहाज छाडिदियौँ,’ महाप्रबन्धक निरौलाले भने। 

उक्त विमानलाई आइतबार दिउँसो ४५ मिनेट सिमराको १४ हजार फिटभन्दा माथि आकासमा होल्ड (फन्को लगाउँदै उडिरहनु) मा राखिएको थियो। उक्त जहाजका कप्तानले होल्डका लागि ३० मिनेटलाई मात्रै पुग्ने जहाजमा इन्धन रहेको जनाउँदै अनुरोध गरेपछि काठमाडौं विमानस्थलमा अवतरण अनुमति दिइएको थियो। त्यो जहाजमा बैंककबाट १ सय ७६ यात्रु आएका थिए भने काठमाडौंबाट फर्किने १ सय ६० जना थिए।

युनिभर्सलका सञ्चालक परासर प्रसाईं हुन्। यिनले उच्च राजनीतिक भनसुन र दबाबका आधारमा थाइ एयर एसियाको काठमाडौं उडान भैरहवा गर्ने सर्तमा असोज १६ गतेदेखि (अक्टोबर २) बाट अनुमति लिएको पर्यटन मन्त्रालयको उच्च स्रोतले बतायो। 

कोभिडअघि २७ करोड बक्यौता नतिरेर भागेको यसैको मूल संस्था एयर एसियाको बक्यौता तिर्ने बैंक ग्यारेन्टी प्रसाईंले प्राधिकरणलाई बुझाएपछि यो वायुसेवालाई प्राधिकरणले भैरहवामा उडान गर्ने सर्तमा काठमाडौंमा उडान अनुमति दिएको थियो। यसले एक महिनाभित्र भैरहवाको अध्ययन गरेर उड्ने सर्त पेस गरेको थियो।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, आइतबारदेखि सुरु भएको विन्टर सेड्युअलका लागि यसले अनुमति पाएको थिएन। अर्थात् यसलाई अक्टोबर २ देखि २७ सम्म २५ दिनको मात्रै काठमाडौंको उडान अनुमति दिइएको थियो।

नेपालले उडानमा हरेक अक्टोबर महिनाको अन्तिम आइतबारदेखि अर्को नयाँ अङ्ग्रेजी वर्षको मार्च महिनाको अन्तिम आइतबारसम्म शीतकालीन (विन्टर सेड्यूअल) लागू गर्छ। मार्चको अन्तिम आइतबारदेखि त्यसै अङ्ग्रेजी वर्षको अक्टोबरको अन्तिम आइतबारसम्म समर (गर्मी) उडान तालिका लागू गर्छ।