जीबी राईलाई ससम्मान स्वदेश फर्काऊ, सुरक्षाको ग्यारेन्टी गर

यतिखेर जीबी राईले विश्वास गरी व्यवसायमा साझेदारी गरेका र विभिन्न व्यावसायिक पहलहरुमा महत्त्वपूर्ण जिम्मेवारी दिएका व्यक्तिहरु कोही थुनामा छन् भने कोही लुकेर बसेका छन् ।

लुकेर बसेकाहरु पनि प्रहरी निगरानीमा छन् । उनका साझेदारहरुमध्ये सबैभन्दा बढी चर्चित र हाईप्रोफाइल व्यक्ति भने रास्वपा सभापति रवि लामिछाने हुन् । लामिछानेले शक्तिको दुरुपयोग गरी लामो समय प्रहरी कारबाहीबाट जोगिने प्रयास गरे पनि कांग्रेस र एमाले सम्मिलित बलियो सरकार आएपछि उनको प्रयास विफल भएको छ । ढिलै भए पनि अनुसन्धानले गति लिएको छ र कानुनी प्रक्रियाले लय समाएको छ ।    

जीबीकै अर्का साझेदार छविलाल बन्जाडे पनि प्रहरी हिरासतमा छन् । रवि लामिछाने र बन्जाडे एउटै प्रकरणमा समातिएका भए पनि ती दुईको भूमिका भने फरक छ । बन्जाडेले सूर्यदर्शन सहकारीबाट १० लाख रुपैयाँ लिएको र त्यो जीबी राईकै खातामा जम्मा गरेको बाहेक अरु प्रमाण फेला पर्न सकेको छैन । यदि यति नै कारण हो भने उनलाई हिरासतमै राखिरहनु नपर्ने भन्दै सर्वोच्च अदालतले उनका पक्षमा फैसलासमेत गरिसकेको छ । यद्यपि उनलाई बुटवलको सुप्रिम सहकारी प्रकरणमा पनि बयान लिइएको छ र सम्भवतः यी दुवै प्रकरणमा उनलाई प्रतिवादी बनाएर मुद्दा पनि चलाइँदै छ ।

बन्जाडेभन्दा लामिछाने कयौँ गुणा ठूलो अभियोगमा मुछिएका छन् । जीबी राई र छविलाल बन्जाडेले आर्थिक लगानी गरेको कम्पनी गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने पनि सञ्चालक थिए । लामिछानेलाई १५ प्रतिशत सेयर आर्थिक लगानीबिनै दिइएको थियो । यति मात्र होइन सम्पूर्ण आर्थिक कारोबार गर्ने जिम्मेवारी पनि रविलाई नै सुम्पिइएको थियो । जीबी र छविले ५ वर्षका लागि दिएको भनिएको रकम रविले ५ महिनामै झ्वाम पारेका थिए । उनको यस योजनामा विपिन आचार्यले साथ दिएका थिए । आचार्य पनि रविकै पार्टी रास्वपाको सहमहामन्त्री छन् । आचार्यकी पत्नी सुरक्षा अधिकारीविरुद्ध त पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

रवि लामिछानेले गोरखा मिडियामा जीबी र छविले गरेको लगानीको स्रोत के हो भन्ने थाहै नभएको बताउँदै आएका छन् । एक त कानुनको अनभिज्ञता क्षम्य हुँदैन भनिन्छ । त्यसमाथि रवि एक साधारण कर्मचारी नभई उक्त कम्पनीका १५ प्रतिशत सेयर हिस्सेदार, सञ्चालक तथा प्रबन्ध निर्देशक हुन् । अझ सम्पूर्ण आर्थिक अधिकार पाएका हर्ताकर्ता पनि हुन् । 

छविलाल बन्जाडेले त योभन्दा पनि महत्त्वपूर्ण सूचना र सुराक अनुसन्धान अधिकारीहरुलाई उपलब्ध गराएका छन् । बन्जाडेले बयानका क्रममा भनेका छन् कि सहकारीको पैसा ल्याएर रकम दुरुपयोगको मास्टरमान्ड नै रवि लामिछाने हुन् । घटनाक्रमहरु हेर्दा यो कुरा होइन भन्ने आधार छैन । जीबी र छविले रविको अनुहार हेरेर नै उक्त रकम लगानी गरेको र उनलाई पूरापूर विश्वास गरी खाली चेक दिएको स्पष्टै बुझिन्छ । किनभने ६८ करोड रुपैयाँभन्दा बढीका चेक रविकै नामबाट जारी भएका छन् । जीबीले गरेको लगानीको सम्पूर्ण पैसा सकिएपछि रवि रातारात राजनीतिमा हाम फालेका छन् । गोर्खा मिडिया डुबाएर सयौँ कर्मचारीको समेत बिचल्ली बनाएर उनी जसरी हिँडे, त्यसले रवि र उनको कोर टिमको योजना नै यही थियो भन्ने पुष्टि हुन्छ । 

अब के गर्ने त? 

अब सरकारले जीबी राईको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । बचतकर्ताको रकम फिर्ता गर्न उनी तयार छन् भने त्यसका लागि अवसर दिनुपर्छ । उनको सम्पत्ति बेचबिखन गर्न पाउने र त्यो बेचिएको सम्पत्ति सहकारीको खातामा जम्मा हुने वातावरण बनाउनुपर्छ । यसै पनि सर्वोच्च अदालतका फैसला र संसदको निर्देशनलाई आधार मान्दै महान्यायाधिवक्ता रमेश बडालले सहकारीका मुद्दामा जेलबाहिरै बसेर हिसाब मिलान गर्न पाउने परिपत्र मातहत कार्यालयहरुलाई गरिसकेका छन् । त्यसमाथि जीबी राई यो देशका एक सफल उद्यमी हुन् । उनी ठूला करदाता पनि हुन् । नेचर हर्ब, नेचर नेस्टजस्ता कयौँ कम्पनीलाई सफलतापूर्वक सञ्चालन गरी विदेशमा समेत ठूलो निर्यात व्यापार सञ्चालन गरिरहेका व्यक्ति हुन् । उनीजस्ता उद्योगीलाई देशबाट पलायन हुने अवस्था आउन दिनुहुँदैन ।

जीबी समूहका सहकारी र गोरखा मिडिया डुब्नुमा स्वय जीबी त्यति दोषी छैनन्, रवि लामिछानेहरू छन् ।

बरू जीबी राईजस्ता सोझासाझा उद्यमीलाई परिबन्दमा पारी रातारात उनको लगानीलाई भुस बनाइदिने रवि लामिछाने एन्ड कम्पनीको कार्यशैली कयौँ गुणा बढी आपराधिक प्रकृतिको देखिन्छ । 

एउटा व्यवसायीले नयाँनयाँ ठाउँमा सम्भावना खोज्छ । जोखिम लिन्छ । सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवीहरुको साथ खोज्छ । जीबीले त्यही गरेका हुन् । जोखिम मोलेर लगानी गर्ने र देशमा उद्यम व्यवसायको सम्भावना खोज्ने व्यक्ति राज्यका कारण भागीभागी हिँड्ने अवस्था आउनु देशका लागि दुर्भाग्य हो ।

यस्तो देशको उन्नति र प्रगति हुन सक्दैन । यसले त अरु उद्यमी व्यवसायी पनि पलायन हुन्छन् । विदेशबाट लगानीसमेत आउन सक्दैन । विश्वभर छरिएर रहेका नेपालीले पनि आफ्नो देशमा लगानी गर्ने उत्कट चाहना हुँदाहुँदै पनि यस्तै कारणले हात झिक्नुपर्ने अवस्था आउँछ । त्यसकारण पनि जीबी राईलाई ससम्मान स्वदेश फर्काउनुपर्छ । उनको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । 

अहिले उनको अगुवाइमा सञ्चालित समस्याग्रस्त सहकारीहरुको कुल रकम करिब १६ अर्ब रुपैयाँबराबर मानिएको छ । जीबी बेपत्ता हुनु भनेको त्यो १६ अर्ब पनि बेपत्ता नै हुनु हो । साथै रवि र छविविरुद्ध जुन कारबाही चलिरहेको छ, त्यसका लागि एउटा महत्त्वपूर्ण प्रमाण र साक्षी पनि जीबी नै हुन् । कुनै पनि फौजदारी अनुसन्धान तथा न्यायिक प्रक्रियामा साक्षी तथा प्रमाणको संरक्षण पनि महत्त्वपूर्ण पक्ष हो । त्यसकारण पनि जीबीलाई सुरक्षाको ग्यारेन्टीसहित स्वदेश फर्काउनुपर्छ र उनलाई डुबाउनेहरुलाई उनकै आँखाअगाडि कोर्रा लगाउनुपर्छ ।