बार अध्यक्ष घिमिरेद्वारा अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस(पूर्णपाठ)

 नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् ।

आइतबार बार अध्यक्ष घिमिरेले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका हुन् । अदालतले आफैँ वा वारेस मार्फत लिखित जवाफ पेस गर्न भनेपनि वारको प्रतिनिधित्व गर्दै उनले लिखित जवाफ पेस गरेका छन् ।

यसअघि सर्वोच्च अदालतका तर्फबाट उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनमा आधारमा उनीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा कुमार रेग्मी र कुमार चुडालको इजलासले कात्तिक १ गते आफै वा वारेस मार्फत सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको थियो ।

‘नेपाल बार एसोसिएसन (नेबाए)को अध्यक्षका हैसियतले मैले असोज ११ मा काठमाडौँ जिल्ला अदालत बार एकाइले आयोजना गरेको कार्यक्रममा नेबाएलाई यसको राष्ट्रिय सम्मेलनद्वारा प्रदान गरिएको म्यान्डेट अनुसार न्यायपालिका भित्र विद्यमान विकृति र विसङ्गतिको अन्त्यका लागि आवाज उठाइएको हो, ’ घिमिरेले लिखित जवाफमा भनेका छन् ,‘ ‘न्यायाधीश नियुक्तिका सम्बन्धमा न्याय परिषद्ले गरेका काम कारवाहीको रखवारी र खबरदारी गर्ने दायित्व नेबाएको हो र रहेको छ । नेबाएले आफ्नो दायित्व निभाएको विषयलाई विषयान्तर गरी अदालतको अवहेलना भएको भनि अदालतका कर्मचारीले निर्देशित प्रतिवेदन दिनु अत्यन्त दुखद कुरा हो र यसले न्याय प्रशासनलाई थप निरङ्कुश र विकृत बनाउँदछ ।’