यमु निरौला हत्या प्रकरण : संलग्न तीन जना सार्वजनिक

झापा  प्रहरीले दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

प्रहरीले मोरङ उर्लाबारी–६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी–७ बस्ने ४९ वर्षीय कुब गौतम र सङ्खुवासभा मादी–१० स्थायी ठेगाना भएर दमक –३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक  कृष्णकुमार चन्दले बताउनुभयो।  घटनापछि फरार दर्जीलाई प्रहरीको विशेष टोलीले शनिबार मात्रै  काँकडभिट्टाबाट पक्राउ गरेको हो। 

घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारीसाधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीको समेत तदारुकताका साथ खोजतलास भइरहेको प्रहरी प्रवक्ता चन्दले जानकारी दिनुभयो।

गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको विषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो। निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका थिए। 

जाहेरी दर्ता गरेपनि घटनासँग जोडिएका  अन्यलाई पक्राउ नगरेको आरोप मृतककका आफन्तजनको छ।  मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएको भन्दै  राजु भनिने शेरबहादुर लिम्बूसहित दमक– ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिनुभएको छ । घटनामा संलग्न केही व्यक्ति फरार रहेको र यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।