पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

काठमाडौँ, ११ कात्तिकः संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गणतन्त्र चीनका प्रसिद्ध वैज्ञानिक एवं प्राध्यापक विङडिङलाई सम्मान गर्नुभएको छ । 

    सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकको सहभागितामा यहाँ आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले आज उहाँलाई अभिनन्द गर्नुभएको हो । उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायका साथै पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो । 
    
    छलफलमा सहभागी सबैलाई मन्त्री पाण्डेले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ । विश्व प्रसिद्ध वैज्ञानिक विङडिङलाई सम्मान गर्दैछौँ । चीनमा ‘डिस्टिङगुइस योङ साइन्टिस्ट’ र ‘चाङजियाङ’को उपाधि  प्राप्त गरिसक्नुभएका उहाँ विश्वका दुई प्रतिशत वैज्ञानिकभित्र पर्नुहुन्छ ।”
 
    वैज्ञानिक विङडिङले चार सय ७० भन्दा धेरै अनुसन्धानमूलक लेख लेख्नुभएको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रविधिको क्षेत्रमा गरिएका अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलका रूपमा काम गर्ने वैज्ञानिक विङडिङलाई नेपालमा स्वागत गर्नु दुई देशबीचको सम्बन्ध सुमधुर बन्दै जानु हो उहाँले भन्नुभयो । 

    पर्यटनमन्त्री पाण्डेले नेपाल र चीनबीच पुरानो सुमधुर सम्बन्ध रहेको बताउँदै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ आएको अभिलेख र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पु¥याएको अभिलेखसमेत रहेको जानकारी दिनुभयो । 

    सुदूरपश्चिम विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकसित गर्न चिनियाँ विश्वविद्यालय र सरकारलाई आवश्यक सहयोग गरिदिनसमेत उहाँले अनुरोध गर्नुभयो । मन्त्री पाण्डेले सहभागी सबैलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले यहाँ घुम्न आउन अनुरोध गर्नुभयो ।

    अभिनन्द कार्यक्रममा चीनका वैज्ञानिक विङडिङले नेपालीमा प्राप्त भएको सम्मान सदैव स्मरण गर्ने बताउनुभयो । उहाँले नेपाली विद्यार्थीलाई आफू मातहतमा अध्ययन तथा अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उहाँले उनीहरुलाई आफूसँग जोडिन आग्रह गर्नुभयो । प्राध्यापक विङडिङको मातहतमा एक सय १४ नेपाली विद्यार्थीले विद्यावारिधि गरिरहनुभएको छ ।