आईएसएफ जिम्नासाइडका टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौँ, ११ कात्तिक: बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबलाई पराजित गरेको छ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि आइतबार भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबलाई ४–१ ले पराजित गरेको हो। जितसँगै नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ। यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ। नतिजा अनुकुल नआएमा नेपाल ११ औं स्थानमा रहने छ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो। नेपाल इङल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईंसँग ७–० ले पराजित भएको थियो। महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन्।

महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ। त्यस्तै पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।