माइतीघरमा जम्मा हुँदै रास्वपा नेता-कार्यकर्ता र समर्थक

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने भएको छ ।

सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका निम्ति हिरासतमा राखिएको निष्कर्ष निकाल्दै रास्वपाले आज पनि आन्दोलन गर्ने भएको हो ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गरिने सो पार्टीले जनाएको छ । अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग गरिएको छ ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।