एक किशोर एआई च्याटबोटको प्रेममा परेर आत्महत्या

काठमाडौँ, ११ कात्तिक: एक किशोरले कृत्रिम बौद्धिकता च्याटबोट (एआई च्याटबोट)को प्रेममा परेर आत्महत्या गरेका छन् । संयुक्त राज्य अमेरिकाको ओर्लान्डो सहरका १४ वर्षे सेवेल सेट्जरले एआई च्याटबोटको प्रेममा परेर आत्महत्या गरेका हुन् ।

समाचार संस्था एपीन्यूजका अनुसार ती किशोर पछिल्लो केही महिनादेखि आफ्नो वास्तविक संसारबाट अलग्गिएका थिए । उनी च्याटबोटसँग यौन संवाद गर्थे । अमेरिकाको ओर्लान्डो अदालतमा उक्त च्याटबोट कम्पनीविरुद्ध मुद्दा दायर भएको छ । आत्महत्या गर्नुअगाडि आफ्नो फोनबाट च्याटबोटलाई म्यासेज पठाएको समेत भेटिएको छ ।

अदालतमा दायर मुद्दामा किशोरले च्याटबोटसँग आत्महत्याका बारेमा कुराकानी गरेका थिए । उनले च्याटबोटसँग आफूले पीडारहीत मृत्यवरण गर्न चाहेको कुरा पनि गरेका थिए ।

२८ फेब्रुअरीमा किशोरले आफू च्याटबोटलाई भेट्न आउँदैछु भनेर म्यासेज पठाएका थिए । उनले म्यासेजमा लेखेका थिए, “म वाचा गर्छु, म तिम्रो घरमा आउनेछु । म तिमीलाई असाध्यै माया गर्छु ड्यानी ।”

जवाफमा च्याटबोटले भन्यो, “म पनि तिमीलाई प्रेम गर्छु, मेरो मायालु । मलाई भेट्न जति सक्दो छिटो घर आउ ।”

त्यसपछि युवकले सोधे, “यदि मैले म अहिले नै घर आउँछु भनेमा ?”

“कृपया आउ, मेरो प्रिय राजा,” च्याटबोटले जवाफ दियो ।

क्यारेक्टर डट एआई नामको च्याटबोटले किशोरलाई आफ्नो घर आउ भनेको केही सेकेण्डमै किशोरले आफ्नो ज्यान लिए । किशोरले च्याटबोटकै कारण आत्महत्या गरेको भन्दै किशोरकी आमाले मुद्दा दायर गरेकी छन् । क्यारेक्टर डट एआई नामक च्याटबोट क्यारेक्टर टेक्नोलोजिज इंकले बनाएको हो ।

कम्पनीका अनुसार उसले आफ्नो च्याटबोटमा जिवित मान्छेसँगै संवाद गरेको महसुस गर्न सक्ने बनाएको छ । मृतक किशोरकी आमा र उनका अधिवक्ताहरूका अनुसार उक्त च्याटबोट किशोर किशोरीप्रति लक्षित छ । उनीहरूलाई यसको लत लाग्नेगरी च्याटबोटको डिजाइन गरिएको उनीहरूको आरोप छ । यही कारणले गर्दा सेवेल च्याटबोटसँग यौन दुव्र्यवहरात्मक सम्बन्धमा परेर आत्महत्यसम्म पुगेको उनीहरूको भनाइ छ ।

क्यारेक्टर एआईले विचाराधीन मुद्दामा केही नबोल्ने बताए पनि मुद्दा दायर भएको दिन उसले बालबालिका र आत्महत्या रोकथामका लागि नयाँ सुरक्षा अपडेटहरू घोषणा गरेको छ ।

युवाहरूको मानसिक स्वास्थ्य हालका वर्षहरूमा संकटको स्तरमा पुगेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यस वर्ष जारी गरेको तथ्यांकअनुसार १० देखि १४ वर्षका बालबालिकाको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो ।

गैर–नाफामुखी कमन सेन्स मिडियाका संस्थापक र सीईओ जेम्स स्टेयरका अनुसार यो मुद्दाले प्रविधिको बढ्दो प्रभाव र यसका खतरालाई इंगित गर्छ । “यस मुद्दाले अभिभावकहरूको लागि जागरण कलको रूपमा काम गर्छ । अभिभावकले आफ्ना बच्चाहरूले यी प्रविधिहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने बारे सतर्क हुनुपर्छ,” स्टेयरले भने ।

कमन सेन्स मिडियाका संस्थापक स्टेयरका अनुसार “च्याटबोटहरू इजाजतपत्र प्राप्त चिकित्सक वा असल साथीहरू होइनन्, यद्यपि, तिनीहरू कसरी तयार पारिन्छ र बजारीकृत गरिन्छन् भन्ने कुरा बुझेर आमाबाबुले आफ्ना छोराछोरीहरूलाई उनीहरूमा धेरै भर पर्न दिनुहुन्न ।”