कोकिनसहित एक लाटभियन नागरिक पक्राउ

 गत २३ साउन बुधबार ६ किलो २४ ग्राम कोकिनसहित एक लाटभियन नागरिक पक्राउ परे।

लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्‍ट्रीय विमानस्थलबाट मध्यराति १ बजे ५१ वर्षीय इभार्स भाल्टर्स नामक उनलाई समातेको थियो।

उत्तरी युरोपको बाल्टिक सागर तटीय मुलुक लाटभियाका नागरिक उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरलाइन्सको विमानमार्फत काठमाडौं अवतरण गरेका थिए। प्रहरीलाई शंका लागेर उनको पिछा गरेको थियो। र, उनले बोकेको ह्यान्ड क्यारी सुटकेसभित्र लुकाएको ६ किलो २४ ग्राम कोकिन बरामद भएको थियो।

उक्त कोकिनको अवैध बजार मूल्य करिब २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ। ब्युरोले इभार्सविरुद्ध लागूऔषध ( नियन्त्रण ) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। प्रहरीका अनुसार उनी नेपाललाई ट्रान्जिट पोइन्ट बनाई अवैध लागूऔषध ओसारपसारमा संलग्‍न भरिया देखिएका छन्।