सरकार ढाल्ने योजना असफल भएपछि बोली फेरे प्रचण्डले, अब सडक आन्दोलनको ट्रायल

कांग्रेस र एमालेको बुइँमा चढेर डेढ वर्ष सरकार चलाएका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बेचैनीमा छन्। उनी कहिले सरकार ढाल्न हरप्रयासमा रहन्छन् भने कहिले अब कांग्रेस र एमालेसँग कहिल्यै पनि गठबन्धन नगर्ने भनेर बताइरहेका छन्।

असोजमा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका बेला प्रचण्डले सरकार ढाल्ने अनेकन प्रयास गरे। कांग्रेस सभापति शेरबहादुर देउवालाई ०८४ सम्मै प्रधानमन्त्री बन्न प्रचण्डले सन्देश समेत पुर्याएका थिए। र, सार्वजनिक समारोहमा पनि उनी अब सरकार धेरै दिन नटिक्ने बताइरहे।

प्रचण्डले पछिल्लो पटक कतिसम्म गरे भने झुक्याएर लोसपा र नागरिक उन्मुक्तिका अध्यक्षलाई विपक्षी गठबन्धनको बैठकमा बोलाए, यो गत साताको घटना हो। प्रचण्डले यसो गर्नुको मुख्य कारण थियो, सत्ता गठबन्धनमा फाटो आइसक्यो, सरकार ढल्दैछ भन्ने सन्देश दिन। तर, लोसपा अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई विपक्षी गठबन्धनको बैठकमा नभइ छलफलका लागि बोलाइएकाले आएको तर झुक्याएको भनेर सार्वजनिक गरेपछि प्रचण्डको झेली राजनीति बाहिरियो।

पछिल्लो पटक रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनी विपक्षी दलहरुको संयुक्त नेता बन्ने प्रयासमा थिए। रास्वपाबाहेक विपक्षी दलले विश्वास गरेका छैनन्।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय मात्र गरेन् सडकबाट सरकार ढाल्ने सपना नदेख्न माओवादी र रास्वपालाई चेतावनी नै दियो। जसकारण प्रचण्ड झस्किएका छन्। सरकार ढाल्ने खेलमा लागेका प्रचण्डको पार्टी माओवादी नै विभाजन हुने स्थितिमा छ। जसकारण अहिले दल विभाजनसम्बन्धी अध्यादेश रोक्न लागेका छन्।

हुन् त अहिलेको स्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले नचाहेमा सरकार ढल्दैन। देउवाले ओलीलाई पक्का बचन दिइसकेका छन्। यही परिस्थिति बुझेका प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको जिकिर गरे।  शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे। ‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने । अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो’, उनले भने ।

तर प्रचण्डले बोलि फेर्नुको मुख्य कारण सरकार ढल्ने स्थिति नभएपछि हो। कांग्रेस सभापति देउवाले यही सरकारलाई नै निरन्तरता दिने बताएपछि प्रचण्ड पछि हटेका हुन्।

तर सरकारमा जाँदा स्थायी सरकारको कुरा गर्ने तर प्रतिपक्षमा पुग्दा जहिल्यै विद्रोह भनेर अस्थिरतामा रमाउने प्रचण्डले फेरि सडक ट्रायल थालेका छन्। सहकारी ठगी प्रकरणमा पक्राउ 

परेका पार्टी सभापति रवि लामिछानेलाई रिहाइको माग गर्दै रास्वपाले सडक आन्दोलन गरिरहेको छ। यही अवस्थामा प्रचण्डले पनि खबरदारीसभाका नाममा सडक आन्दोलन थाल्का हुन्।

माओवादीले सडक आन्दोलनका नाममा असतुष्टिको मत बटुल्ने प्रयास गरेको छ। तर, असन्तुष्टि कांग्रेस, एमालेसँग मात्र होइन माओवादीसँग पनि उत्तिकै छ। त्यही भएर वैकल्पिक र नयाँ जनाधारलाई प्रचण्डको यो आन्दोलन छुने देखिँदैन।