रास्वपाले सडक आन्दोलनलाई निरन्तरता दिने, उपसभापति अर्यालको नेतृत्वमा बन्यो समिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकले सडक आन्दोलन जारी राख्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ उल्लेख छ ।

बैठकले ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकोले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न’ माग गरेको छ ।

उपसभापति अर्याल नेतृत्वको आन्दोलन सञ्चालन मूलन समितिमा ७ प्रदेशका सभापतिहरू लगायत रहनेछन् । कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकले राजनीतिक नागरिक संवादको लागि पार्टीका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा अर्को समिति गठन गरेको छ ।

साथै, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपा केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । बैठकले यसअघि स्थगित गरेका जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सुचारु गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

rsp