वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

रवि पक्राउविरुद्धको आन्दोलनमा जनताले साथ नदिएपछि तनावमा रास्वपा, प्रदर्शन स्थगितको तयारी
 

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सडक आन्दोलन थालेको रास्वपा तनावमा परेको छ। २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका रविलाई पोखरा लैजाँदा पार्टीको सिंगो शक्ति उनीसँगै पोखरा पुगेको थियो। शनिबार र आइतबार प्रदर्शन गरेपछि रास्वपाले देशभर आन्दोलन गर्ने घोषणा गरेको थियो। तर, अदालतले दुईपटक म्याद थप गरिदिएपछि रास्वपालाई आन्दोलन थेग्न हम्मेहम्मे परेको छ।   रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी छ। कास्कीको सूर्यदर्शन सहकारीपछि बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि रविमाथि अनुसन्धान अघि बढाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ।

https://barnanmedia.com/news/detail/200344/ 

रास्वपामा कार्यवाहक सभापति निकिता कि डीपी? 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लामै समयका लागि थुनिने भएपछि अब पार्टी कसरी चलाउने भन्ने अन्योल सुरु भएको छ । पार्टीको कामै रविका व्यक्तिगत मुद्दालाई लिएर सडकमा दिन बिताउने कि जनताका अरु काम पनि गर्ने भन्ने कोणबाट समेत कुरा हुन थालेको छ । आमनागरिक र बौद्धिक तप्काले पनि फौजदारी अनुसन्धानको प्रक्रियामा गएको र अदालतले समेत दुईदुईपटक म्याप गरिसकेको विषयमा सडकबाट दबाब दिन खोज्नु अनुचित भनेर टिप्पणी आाइरहेका छन् । त्यसैले अब रास्वपा रविको पछि लाग्न सक्दैन र विकल्प खोज्नुपर्छ भन्ने धारणा पार्टीभित्र र बाहिर समान रुपमा उठेका छन् । जिल्ला अदालत कास्कीले १३ दिनसम्म थुन्न मिल्ने गरी प्रहरीलाई अनुमति दिएको छ । सुरुमा ६ दिन र त्यसपछि ७ दिनको म्याद दिएको अदालतले त्यसपछि पनि प्रहरीले चाहेमा थपिदिन सक्ने पर्याप्त संकेत गरेको छ । यसैबीच तिहार र छठजस्ता नेपालीका महत्त्वपूर्ण चाडहरु आएकाले पनि रविको हिरासत बसाइ लम्बिने देखिएको छ । 

https://barnanmedia.com/news/detail/200402/

 रास्वपा सिद्धान्त र इतिहासविहीन पार्टी हाे : मोहन बस्नेत 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सिद्धान्त र इतिहासविहीन पार्टीको रूपमा टिप्पणी गरेका छन्। शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘भर्खरै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीको कुनै इतिहास छ ? कुनै विचार छ ? त्यो पार्टीको सभापतिको घर कहाँ हो कसैलाई थाहा छ ?’ उनले प्रश्न गरे। बस्नेतले रास्वपालाई कुनै स्थायी विचार र उद्देश्यविहीन पार्टी भन्दै यसका नेताहरूको विचार स्पष्ट नभएको र पार्टी सभापतिको ठेगानासमेत जनतालाई थाहा नभएको टिप्पणी गरे। उनले भने, ‘अहिले हाउगुजीको भरमा जनमतलाई बर्बाद गर्ने प्रयास भइरहेको छ, जसलाई रोक्न हामी सबैले सचेत हुनुपर्छ।’  कार्यक्रममा उनले नेपाली कांग्रेस सधैं जनताको दुःखमा साथ दिने पार्टी भएकोले जनताको भावना मिचेर अघि बढ्न नहुने बताए।

बिपी कोइराला स्मृति कप : उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबलाई 

बिपी कोइराला स्मृति कप टि–ट्वान्टी प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ । रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनलमा लाइफ केयर क्रिकेट क्लबले नेपालको नेक्सस रुपन्देही एघारलाई २१ रनले पराजित गर्यो । उपाधि जित्न १६५ रनको लक्ष्य पाएको नेक्सस रुपन्देहीले पुरै २० ओभर ब्याटिंग गरेता पनि सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । नेक्सस रुपन्देहीको ब्याटिंगमा कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए। यस्तै बसिर अहमदले २५, शंकर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन बनाए । लाइफ केयरको बलिंगमा सक्षम शर्माले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ११ रन खर्चिए । जस्मित नैन र कप्तान योगेश कुमारले समान २ विकेट लिंदा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले १/१ विकेट लिए ।

सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएको : प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा विरोध जनाएका छन् । शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विरोध जनाएका हुन् ।संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको उनको भनाइ छ । आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’

इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी 

इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको शनिबार रूसले बताएको छ ।  जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाएमा तेहरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ इजरायलले चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिका र बेलायत दुवैले इरानलाई द्वन्द्वलाई थप नबढाउन माग गरेका छन्।  रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यस क्षेत्रमा जारी विष्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताउनुभएको छ ।  “हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न र घटनाहरूलाई विनाशकारी परिदृश्यमा परिणत हुनबाट रोक्न आग्रह गर्दछौं,” उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उहाँले बताउनुभयो । साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ । 

१७ वर्षीया किशोरी बेपत्ता प्रकरण : १५ दिन सम्म पनि भेटिएन, हबलदारमाथि दाेस्राे पटक म्याद थपयाे 

असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका- २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरी हराएको १५ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेको छ । किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ, तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए । ‘बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन्, ग्यालेन र डोरी भेटिएको छ, तर किशोरीको अवस्था अज्ञात छ’, उनले भने, ‘हामीले खोजिरहेका छौं ।’

प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छ : मुख्यमन्त्री लामा 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सामाजिक सङ्घसंस्थासँग हातेमालो गरेर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ ।  ‘जेसीज सप्ताह–२०२४’ को समापनका अवसरमा हेटौँडामा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले विकासमा सामाजिक सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण रहेकाले प्रदेश सरकार सामाजिक सङ्घसंस्थालाई साथमा लिएर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।  युवाहरू जेसीजमार्फत एकताबद्ध भएर नेतृत्व तथा व्यक्तित्व विकाससमेत गर्दै सामाजिक सेवामा लागेकोप्रति खुसी व्यक्त गर्नुहुँदै मुख्यमन्त्री लामाले जेसीजको कर्मबाट सिङ्गो समाजले प्रेरणा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । जेसीजले समाजमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै उहाँले जेसीजका नेतृत्व अझै क्रियाशिल भएर सामाजिक क्षेत्रमा लाग्नु आवश्यक रहेको बताउनुभयो । 

लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा भट्टराई 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोेजक डा बाबुराम भट्टराईले लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताउनुभएको छ ।आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सङ्घीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वर्द्धन गर्दै लैजानपर्ने आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, “मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेण्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो तर उनीहरु पनि व्यवस्थित हुन सकिरहेको देखिन्न ।”

खुकुरी प्रहार गरि छिमेकीकाे हत्या 

सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ। सामान्य विवादका क्रममा खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले शनिबार भीमबहादुरको हत्या गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए। हत्या भएको खबर स्थानीयले गरेपछि जिल्ला प्रहरी र चिचिला प्रहरी चौकीबाट खटिएका प्रहरीले हत्यामा संलग्न दुर्गामायालाई नियन्त्रणमा लिइसकेको छ।

टेनिस प्रतियोगितामा सुनिरा र रिसिकलाई एक लाख पुरस्कार 

वीर गणेशमान सिंह चौथो राष्ट्रिय टेनिस प्रतियोगिता सुनिरा थापा र रिसिक राणालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ । नेपाल टेनिस सङ्घको खेलमैदान सातदोबाटोमा गणेशमान सिंह फाउण्डेशनद्वारा आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा आज उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उहाँहरूलाई मेडल, प्रमाणपत्रसहित रु एक लाखको चेक  हस्तान्तरण गर्नुभयो । महिला सिंगलतर्फको उपाधिका लागि सुनीरा थापाले अभिलाशा विष्टलाई पराजित गर्दै उपाधि हात पार्नुभएको हो । सेमिफाइनलमा अभिलाशाले प्राज्ना मानन्धरलाई र सुनीराले स्वस्तिका विष्टलाई पराजित गर्नुभएको थियो । पुरुष सिंगलतर्फ ऋतिक राणाले राजवीर प्रधानलाई पराजित गर्दै उपाधि हात पार्नुभयो । यसअघि सेमिफाइनलमा राजवीरले प्रणव मानन्धरलाई र ऋतिकले आयुष्मान् घलेलाई पराजित गर्दै उपाधि यात्रा तय गर्नुभएको थियो ।

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता 

 नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएको छ ।  इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक  बक्सिङ’ (इस्का)  प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल हुनुभएको हो । बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिनुभएको थियो । यो ऐतिहासिक सफलतासँगै  घिमिरे इस्का र हिट किक बक्सिङ दुवै  प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल हुनुभएको हो । 

गरिब जनतामा स्वास्थ्य सेवा पुर्‍याउनेगरी सरकारले काम गरिरहेको छ : सञ्चारमन्त्री गुरुङ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताउनुभएको छ । उहाँले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्नेगरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पार्नुभयो । लमजुङ बेँसीसहर नगरपालिका–२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वाथ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले नेपालमै किड्नी फेर्नेदेखि कलेजोको उपचार हुने गरे पनि धेरै महँगो भएको बताउनुभयो । उहाँले किड्नी र कलेजोजस्ता उपचारमा जनताको पहुँच पुर्‍याउन सरकारले लागिपरेको बताउनुभयो ।

दुईवटा फिल्म बनाएपछि म डिप्रेसनमा पुगे : कपिल शर्मा 

कपिल शर्माले भर्खरै एक अन्तर्वार्तामा आफू फिल्म निर्माणमा प्रवेश गर्दा दिवालिया भएको खुलासा गरेका छन् । जसका कारण उनी डिप्रेसनको सिकार पनि भए । कपिलले २०१७ र २०१८ मा ‘फिरंगी र सन अफ मनजीत सिंह’ नामक दुई फिल्म बनाएका थिए। दुवै चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएका छन् । फिल इट इन योर सोल पोडकास्टमा कपिलले दुईवटा फिल्म बनाएपछि उनको बैंक ब्यालेन्स एकदमै शून्य भइसकेको खुलासा गरे । उसले भन्यो, 'म पागल भएँ। दुईवटा फिल्म बनाएको थिएँ । वास्तवमा, के भयो मसँग धेरै पैसा थियो। मैले सोचेँ कि पैसाले एक निर्माता बनाउँछ। तर पैसाले मात्रै निर्माता बन्दैन रहेछ । 

तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना 

 गत असोज २० गते कालीमाटी तरकारी र कुलेश्वर फलफूल बजार अनुगमन गर्न गएको टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका छन् ।  नेपाल फलफूल थोक व्यवसायी सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गरी आफूहरूबाट अनजानमा असहयोग भएको र आगामी दिनमा गल्ती नदोहोरिने प्रतिबद्धतासहित माफी मागेको हो ।  सङ्घका अध्यक्ष अम्मर बानियाँले सो दिन अनुगमनमा गएको टोलीलाई व्यापारीहरूले अन्जानमा असहयोग र नाराबाजी गरेकाले क्षमायाचना गरिएको बताउनुभयो । “गत असोज २० गते नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत उपस्थित रहनुभएको सरकारी बजार अनुगमन टोलीलाई व्यापारीहरूले असहयोग गर्दै नाराबाजी गरेको घटनाप्रति हामी व्यापारीहरूको तर्फबाट क्षमायाचना गर्दर्छौँ”, विज्ञप्तिमा भनिएको छ, “आगामी दिनमा हामीबाट यस्ता अवाञ्छित गतिविधिहरू नदोहोरिने प्रतिबद्धता गर्दै व्यापार व्यवसाय सञ्चालनका क्रममा नेपालको प्रचलित कानुनअनुसार सबै मापदण्डहरू पूरा गर्ने र विगतमा भएका कमजोरी पूर्ण रूपले सुधार गर्ने विश्वास दिलाउन चाहन्छौँ ।