१७ वर्षीया किशोरी बेपत्ता प्रकरण : १५ दिन सम्म पनि भेटिएन, हबलदारमाथि दाेस्राे पटक म्याद थपयाे

 असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका- २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरी हराएको १५ दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेको छ ।

किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ, तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको नपाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए ।

‘बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन्, ग्यालेन र डोरी भेटिएको छ, तर किशोरीको अवस्था अज्ञात छ’, उनले भने, ‘हामीले खोजिरहेका छौं ।’

किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका प्रहरी हबलदार कृष्णराज जोशी पक्राउ परेका छन् । गत असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन् । उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।बेपत्ता भएकी किशोरीसँग प्रहरी हबलदार जोशीको सम्पर्क रहेकाले उनले नै बेपत्ता पारेको आफन्तले आरोप लगाएका छन् । जिल्ला अदालतबाट दोस्रो पटक म्याद थपेर जोशीमाथि अनुसन्धान भइरहेको निरीक्षक ढुङ्गानाले बताए ।

उनले प्रहरीलाई दिएको बयानमा बिहान आफूसँग भेट भएको बताएका छन् ।‘हामीबीचको सम्बन्धबारे मेरो परिवारले थाहा पायो, अब के गर्ने’, बिहान करिब ५ः३० बजे हबलदारलाई भेटेर किशोरीले भनेकी थिइन् ।‘अहिले म केही गर्न सक्दिनँ २-४ दिन रोक, केही गरौंला’, हबलदारले भनेका थिए ।‘त्यस्तो नभन्नुहोस्, मलाई गाह्रो हुन्छ’, यति भन्दै किशोरी बाटो लागेपछि आफू आएर सुतेको हवलदारले बयान दिएक छन् ।

पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकी नजिकै घर हुँदा चिनजान भएको हबलदार जोशीले प्रहरीसमक्ष बताएका छन्, तर स्थानीयले भने किशोरी बेपत्तामा हबलदारको संलग्नता रहेको आरोप लगाएका छन् ।

उनीहरुबीचको निकटता झल्काउने गरी प्रमाण पनि भेटिएका छन् । हबलदार जोशीको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका छन् ।प्रहरीलाई नै किशोरी बेपत्ताको आरोप लागेपछि हबलदारमात्रै कारबाहीमा परेनन्, प्रहरी चौकी नै सारिएको छ ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिएको हो ।महाकाली प्रहरी चौकी जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको सञ्चार सम्पर्कसमेत नहुने भूगोल रहेकाले तत्कालका लागि प्रहरी चौकी सारिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

उनले भने, ‘महाकाली प्रहरी चौकी तत्कालका लागि कुलाउमा सारिएको हो । महाकाली प्रहरी चौकीका सबै जवान अहिले कुलाउमै बस्ने गरेका छन् । पछि उपयुक्त भूगोल हेरेर चौकी स्थापना गर्छौं ।’

गएको असोज २५ गते डिम्बरकी किशोरी बेपत्ता प्रकरणमा प्रहरी हबलदार कृष्णराज जोशी तानिएपछि स्थानीयले प्रहरी चौकी सार्नुपर्ने माग गरेका थिए । जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रहरी चौकी सार्नुपर्ने मागसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

महाकाली क्षेत्रका लागि अहिले ९ जनाको नयाँ टोली खटाएको र उक्त टोली कुलाउमै बस्ने गरेको ढुङ्गानाले बताए । अहिले पनि किशोरीको खोजी जारी छ, तर कुनै सुराक भने प्रहरीले भेटेको छैन ।