माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा,सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।