माओवादी सरकार आउँदैन, ढुक्कसँग चलाउनु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलहरूलाई ढुक्कसँग सरकार चलाउन सुझाव दिएका छन्। 

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरूले गम्भीर समीक्षा गरेको र अब जनतातिरै फर्कने निश्चित भएको दाबी गरे। 

बरु, प्रतिक्रियावादीसँग मिलेर केही समय आफूहरूमा पनि गल्ती देखिएको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले अब त्यस्तो नहुने दाबी गरे। 

‘हामी अलिअलि प्रतिक्रियावादीहरूसँग हिँड्दा हिँड्दा उस्तै होइने हो कि भन्ने खतरा पैदा भएको थियो। हामीलाई बेलैमा निकालेर जनतातिर फर्काइदिनुभयो, त्यसकारण तपाईंहरूलाई धन्यवाद। मेरो यो भनाइलाई हल्का रुपमा नलिनुहोला। हामीले पार्टी केन्द्रमा गम्भीर समीक्षा गरेका छौँ,’ प्रचण्डले भने, ‘यस्ता भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि कताकता के हो के हो भन्ने परेको थियो, अब हामी जनतातिर फर्केर आत्मालोचना गरेर भन्ने छौँ– हामी तपाईंहरूकै छोराछोरी थियौँ। हामी जनतालाई भन्नेछौँ।ङ्घ

उनले फटाहहरूसँग बिग्रिनबाट जोगिएर अब जनतातिर गएको भन्दै माओवादी आउँछ सत्तामा भनेर नडराउन पनि भने। 

‘जाली फटाहहरूसँग लाग्दा बिग्रियौँ, सच्चिन चाहन्छौँ र तपाईंहरूको मुक्ति नहुँदासम्म हामी लडिराख्न भन्न पाएका थिएनौँ। त्यसकारण तपाईंहरू ढुक्कसँग सरकार चलाए हुन्छ। फेरि माओवादी आउँछ कि भनेर चिन्ता नलिए हुन्छ,’ प्रचण्डले भने।