बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव नेपालमा समेत

 देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव नेपालमा समेत परेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

कोशीमा आंशिकदेखि साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । विभागका अनुसार शुक्रबार राति कोशी प्रदेश र पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । 

शनिबार र पर्सी आइतबार पनि कोशी प्रदेश र पहाडी भू–भागका केही स्थान बाहेक मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्कसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अप्नाउन विभागले आग्रह गरेको छ ।