माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्दै

काठमाडौँ, १०  कात्तिक  :  नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्दैछ ।

माओवादीले आज दिउँसो सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शनसहित खबरदारी सभा गर्न लागेको हो ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताको कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि माओवादीले खबरदारी गर्न लागेको जनाएको छ ।

यस्तै, यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागेको माओवादीले बताएको छ ।