दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङको तुलसीपुरमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार बिहान सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको  दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र  सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्का छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए।

पाँच जना सवार रहेको जीप सडकबाट झन्डै तीनसय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ। सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३  र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको डीएसपी ठकुaरीले जानकारी दिए।

दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपागञ्ज रेफर गरिएको हो।