अपराधको दुनियाँमा २२ वर्षे ‘नेपाली नटवरलाल’को अपराध यात्रा

काठमाडौँ, १०  कात्तिक  :  भारतका एक महाठग थिए, नटवरलाल। बिहारमा जन्मेका उनले आफ्नो जीवनमा यति धेरै ठगी र जालसाजी गरे कि आज पनि उसको नाम ठगी तथा चोरीको प्रतीक बनेको छ। उनी ठगी र जालसाजीमा अद्भूत कला भएका व्यक्ति थिए।

नटवरलाल (मिथिलेस कुमार श्रीवास्तव)ले ठग्ने कुरा त सामान्य हुन्थ्यो। तत्कालीन भारतीय राष्ट्रपतिको किर्ते हस्ताक्षर गरेर भारतको चर्चित ऐतिहासिक ताज महल तथा प्राचीन स्मारक, संसद् भवन र राष्ट्रपति भवनसमेत बेचिदिएका थिए।

त्यो पनि एकपटक होइन बारम्बार कयौँ मानिसलाई बेचेर पैसा असुली गरेका थिए। सन्, १९७०, ८० र ९० को दशकमा नटवरलालको नाम पूरै भारतमा कुख्यात थियो।

नटवरलाल जन्मेको ठाउँबाट अलिवर नेपालको उदयपुरका एक युवा उसैगरी ‘फ्रडस्टार’को रूपमा आएका छन्। जसले नटवरलालकै शैलीमा चोरी, ठगी र जालसाजीलगायतका दर्जनौँ धोकाधडीका अपराध गरिसकेका छन्, त्यो पनि २२ वर्षे नौजवान उमेरमै।

उनी हुन्, सुजन आचार्य। सानै उमेरबाट श्रृंखलाबद्ध ठगी गर्दैआएका उनी पछिल्लो समय एकै वर्षमा १० करोड रुपैयाँ ठगेर फरार भएका छन्। सिंगापुरका होटलमा काम लगाइदिने भन्दै थुप्रै युवाबाट करोडौँ रकम असुलेर ।

सानोतिनो गिरोह नै बनाएर पैसा असुली गरेका उनले झन्डै ८० भन्दा बढी युवाबाट पैसा उठाएको अनुमान छ।  ठगी आरोपमा पक्राउको लागि इन्टरपोलमा नोटिस जारी गरिएका उनै युवा सुजन आचार्य पक्राउ परेका छन् ।

सानै उमेरबाट श्रृंखलाबद्ध ठगी गर्दैआएका उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । अध्यागमन र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको छ ।

उनी नेपालको मुद्दा मिलाउन भन्दै थाइल्यान्ड हुँदै नेपाल आउने क्रममा विमानस्थलबाटै पक्राउ परेका हुन् । ‘आफैँ आत्मसमर्पण गर्न आएको’ सुजनले बताएका छन् ।२ वर्षअघि करोडौँ रुपैयाँ ठगेर फरार भएका सुजन सिंगापुर तथा कम्बोडियामा बस्थे ।सिंगापुरका होटेलमा काम लगाइदिने भन्दै थुप्रै युवाबाट करोडौँ रकम असुलेर भागेका उनी सम्पर्कविहिन भएको भन्दै उजुरी परेको थियो ।

झण्डै ५० भन्दा बढी युवाहरूले सुजनविरुद्ध प्रहरीमा ठगी उजुरी दिएका थिए । सुजनलाई पक्राउ गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो ।सोही आधारमा प्रहरीले इन्टरपोलमा नोटिस जारी गरेको भए पनि उनलाई स्वदेश झिकाउन पहल भने गरेन । सुजन आफैँ शुक्रबार मध्यान्न सवा १२ बजे काठमाडौं विमानस्थल झरेपछि अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

उनी वर्ष दिनअघि नै कम्बोडियामा रहँदा नेपाल आउने बताएका थिए । तर, उनलाई प्रहरीले भने स्वदेश नझिकाएको उनी बताउँछन् ।
उनले भने नेपालमा रहेको पीडितहरूलाई पैसा फिर्ता गरेर मुद्दा मिलाउन स्वदेश आएको बताएका छन् ।

पीडितहरूको केही रकम तत्काल दिएर पछि बाँकी पैसा फिर्ता गर्ने उनले आश्वसन दिएका छन्। सुजनकी श्रीमती बिनु शाक्यविरुद्ध पनि ठगी मुद्दा परेकाे छ ।

सुजनबाट पीडित को-को हुन् ?
डेढ वर्षअघि पत्रकार सम्मेलन गरेर ४० भन्दा बढी पीडिते सुजनलाई करिब ४ करोड ३० लाख रुपैयाँ बुझाएको प्रमाण सार्वजनिक गरेका थिए ।अरू थुप्रैसँग पनि सुजनले विदेश पठाउने भन्दै मोटो रकम ठगेको आशंका छ । सिंगापुरमा काम लगाइदिने भन्दै अनुमानित १० करोड रुपैयाँ ठगेको हुनसक्ने पीडितको अनुमान छ ।

कैलालीका पारस अधिकारीले १२ लाख ५० हजार, अछाममा अनिल अधिकारीले पाँच जनाको लागि ४४ लाख बुझाएका छन् । अछामका मीन अधिकारीले १२ लाख बुझाएका छन् ।अछामकै प्रेम साउदले १२ लाख बुझाएका छन् भने, अछाम राजेन्द्र साउदबाट सुजनले १२ लाख ठगी गरेका छन् । अछाम बिन्दु खत्री ७ लाखमा रुपैयाँ ठगिएकी छिन् ।

कञ्चनपुरका सुरेन्द्र शाहको १२ लाख, बाजुराका झरेन्द्र सिंहको १२ लाख ५० हजार, जगदीश बस्नेतको ७ लाख रुपैयाँ सुजनले लिएका छन् ।बैतडीका भूपेन्द्र सिंहले १३ लाख ५० रुपैयाँ सुजनकी प्रेमिका बिनुलाई बुझाएको प्रमाण सार्वजनिक गरेका छन्, भने कञ्चनपुरका कृष्ण शाहीले साढे १२ लाख ठगिएको बताएका छन् ।

यस्तै, झापाका अभिषेक श्रेष्ठ, आनन्द श्रेष्ठ, महेन्द्र तामाङ, मनोज उप्रेती, अभिषेक आचार्य, सौगात गोम्दे, सुधीर पराजुली पनि ठगिएका छन् ।झापाकै नितेश मैनाली, उमेश मैनाली, कृष्ण चौधरी, महेश तामाङ र अमित तामाङ पनि सिंगापुर जाने प्रलोभनमा सुजनबाट ठगीमा परेका छन् ।

कैलालीका प्रकाश विक, रमेश सिंह मायल, केशव विक र भीम विकले पनि आफू ठगिएको भन्दै प्रहरीमा र वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।काभ्रेका जगदीश बस्नेत, रविन सापकोटा, जगमोहन बस्नेत, प्रभुशरण अधिकारी र बलराम पन्तले पनि प्रमाणसहित ठगीमा परेको बताएका छन् ।

मोरङका ऋषिमान तामाङ, विकास श्रेष्ठ, मोरङ, काठमाडौंका सुमन दङ्गाल, दिनेश दाहाल, दाङका गोविन्द पुरी, सञ्जय गिरी, कञ्चनपुरका कृष्ण शाही, बैतडीका भूपेन्द्र सिंह, बाँकेका अनिल भण्डारी र थइन्द्र लिम्बूले पनि ठगीमा परेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।