प्रचण्डले पूर्वराजा भेटेको आरोपकाे सत्य तथ्य के हाे ?

काठमाडौँ १० कात्तिक : पत्रकार किशोर नेपालले पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको आफ्नो एक्समा लेखेका छन् ।

नेपालले केही दिन पहिले प्रचण्डले पूर्वराजा भेटेको उल्लेख गर्दै एक्समा लेखेका छन्, “जनयुद्धका चीफ कमान्डर तथा सङ्घीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दर्शन भेट’ गर्नु भएको खबर धेरैका लागि अविश्वसनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।”

प्रचण्डको सचिवालयले भने पत्रकार नेपालले लेखेको कुराको खण्डन गरेको छ ।प्रचण्डका स्वकीय सचिव रमेश एक्समै लेखेका छन्, “वरिष्ठ पत्रकार किशोर नेपाल, तपाईं जस्तो  व्यक्तित्वले यति कमजोर र भ्रामक कुरा गर्न पटक्कै सुहाएन । यस्तो कुरालाई सच्चाउनसमेत हार्दिक आग्रह गर्दछु ।”

पत्रकार किशोर नेपालको एक्स र प्रचण्ड सचिवालयको खण्डन

पत्रकार नेपालले प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति भाइचारा जनाउन शनिबार भृकुटीमण्डपमा बृहत् आन्दोलनको नेतृत्व गर्नेसमेत लेखेका छन् ।

प्रचण्डविरुद्ध लगातार एक्स गरेका पत्रकार नेपाल लेख्छन्, “प्रचण्डले भोलि शनिबार रास्वपा सभापतिप्रति भाइचारा दर्शाउन भृकुटीमण्डपमा विशाल प्रदर्शनको नेतृत्व गर्नुहुने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।”

प्रचण्डको सचिवालयले त्यसको पनि खण्डन गरेको छ । “प्रचण्डले रास्वपा सभापतिप्रति भाइचारा दर्शाउन कार्यक्रम गर्ने भन्ने पोस्ट् सतप्रतिशत कपोकल्पित र झुट भएको स्पष्ट गर्दछु । अचम्म यो छ कि यो उहाँ आफैँले गरेको हो या कसैको नियोजित उक्साहटमा ?,” प्रचण्डका स्वकीय सचिव मल्लले लेखेका छन् ।

त्यसो त प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह भेटेको आधिकारिक जानकारी बाहिर आएको छैन । उनी आफ्नै दैनिक कार्यक्रममा व्यस्त छन् ।

शनिबार भने माओवादी केन्द्रले नै सरकार विरोधी प्रदर्शनको आयोजना गरेको छ । त्यहाँ प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।