रवि पक्राउविरुद्धको आन्दोलनमा जनताले साथ नदिएपछि तनावमा रास्वपा, प्रदर्शन स्थगितको तयारी

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सडक आन्दोलन थालेको रास्वपा तनावमा परेको छ।

२ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका रविलाई पोखरा लैजाँदा पार्टीको सिंगो शक्ति उनीसँगै पोखरा पुगेको थियो। शनिबार र आइतबार प्रदर्शन गरेपछि रास्वपाले देशभर आन्दोलन गर्ने घोषणा गरेको थियो। तर, अदालतले दुईपटक म्याद थप गरिदिएपछि रास्वपालाई आन्दोलन थेग्न हम्मेहम्मे परेको छ।  

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी छ। कास्कीको सूर्यदर्शन सहकारीपछि बुटवलको सुप्रिम सहकारीको ठगी प्रकरणमा पनि रविमाथि अनुसन्धान अघि बढाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ।

बिहीबार लामिछानेलाई अदालत लैजाने क्रममा पनि प्रदर्शनकारीको संख्या न्यून थियो। जसकारण उसले शुक्रबार पोखरामा प्रदर्शन गरेन। 
बरु ट्राफिक अस्तव्यस्त हुने काठमाडौंमा शुक्रबार प्रर्दशन गरियो, काठमाडौंमा प्रदर्शन गर्दा पनि रास्वपाको उल्लेख्य संख्या थिएन। तर, निकै व्यस्त हुने सडकमा प्रदर्शन भएकाले भिडभाड देखिएको थियो।

सुरुमा रवि पक्राउको विरोध मात्र गर्दै आएको रास्वपा अहिले आएर सहकारी ठगी प्रकरणमा अनुसन्धान हुने बताइरहेको छ। आफ्ना सभापति पक्राउ पर्दा विरोध गर्ने तर फेरि सहकारी ठगीमाथि कारबाही हुनुपर्ने दोहोरो चरित्र रास्वपाले अघि सारेपछि नागरिक सडकमा आएका छैनन्। सहकारी पीडितका संघसंस्थाले त रास्वपाको आन्दोलनमा सहभागी नहुन उर्दी नै जारी गरिसकेका छन्। 

जनताले साथ नदिने भएपछि प्रदर्शन स्थगित गर्न रास्वपाभित्रै दबाब बढेको छ। आन्दोलनको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न रास्वपाले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको थियो। तर, कुनै सहमति जुट्न सकेन।  कार्यवाहक प्रवक्ता मनीष झाले प्रदर्शन जारी राख्ने निर्णय भएको तर स्वरूप निर्धारणबारे शनिबार छलफल गरिने बताए। रास्वपाको बैठक बस्न अघि सत्ता गठबन्धनको बैठक बसेको थियो।

बैठकले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा सार्वजनिक गरेको हो। पछिल्ला दिनमा अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने उद्देश्यले गतिविधि सुरु भएको भन्दै सात दलले भनेका छन्, भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरु लोकतन्त्र र विधिको शासन विपरीत कुरा हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ।’ साथै कुनै पनि समस्याको लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै अराजकतालाई प्रत्याहन नगर्न आग्रह गरेको छ ।

त्यही भएर अब रास्वपाले अब प्रदर्शन भन्दा पनि अन्य कार्यक्रम गर्ने सम्भावना छ। अदालतको आदेशमा फौजदारी कसुरको अनुसन्धानको प्रक्रिया अघि बढिरहेका बेला सडकबाट दबाब दिन खोजेको भनेर रास्वपाको आलोचना भएपछि उसले थाम्न सकेको छैन। त्यसैमा जनताले पनि साथ दिएका छैनन्।