नेपाल प्रिमियर लिग : नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई अनुबन्ध गरेको छ । जेरार्डले मसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजबाट खेल्ने छन् ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका इरसमसले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । सोक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार रन बनाउनुका साथै ३८ विकेट र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउनुका साथै ५३ विकेट लिएका छन् ।

उनले कप्तानको भुमिकामा इरसमसले नटआउट ५३ रन बनाउदै आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया २०२१ मा ट्वान्टी-२० विश्वकपको सुपर १२ मा पुगेको थियो। नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएको ४ खेलमा ३ मा जिताएका थिए । जसमा नेपालविरुद्धको दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

'मर्वी जेरार्ड इरसमस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन् । साथै उनी आफ्‌नो टोलीका सच्चा लिडर पनि हुन् । उनको आगमनले काठमान्डु गुर्खाजको ब्याटिङ, बलिडका साथै नेतृत्व टोलीलाई पनि ठुलो टेवा पुग्ने छ, हामी उनको आगमनको प्रतिक्षामा छौ' काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

दुबईमा इन्टरनेश्नल लिग टी-२० खेलेका इरसमस काठमाडौं आएर गुर्खाजबाट एनपीएल खेल्न निकै उत्सुक रहेको जनाए ।'गुर्खाज परिवारको एउटा सदस्य हुन पाउदा म आफुलाई अत्यन्तै गौरान्वित महसुस गरिरहेको छु । आफ्‌नो साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउदा मलाई गर्व छ,' इरसमसले भने, 'हामी त्यहि निडर भावनालाई क्रिकेट मैदानमा ल्याउन र स्मरणीय बनाउन लागि तयार छौ ।'

एनपीएल खेल्ने उनी गुर्खाजका दोस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई गुर्खाजले यसअघि नै अनुवन्धन गरिसकेको छ । लेभिट नेदरल्यान्ड्सबाट ट्वान्टी(२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । मार्चमा उनले नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा ६२ बलमा १ सय ३५ रन बनाउनेक्रममा ४९ बलमा शतक पुरा गरेका थिए। सो भ्रमणमा लेभिटले नेपालविरुद्धको तीन ट्वान्टी(२० अन्तर्राष्ट्रिय खेलमा दुईमा अर्धशतक बनाएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजको मार्की खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।