नेपाल प्रिमियर लिग : अमेरिकाका जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट खेल्ने

अमेरिकाका क्रिकेटर जोशुवा ट्रम्पले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।

जनकपुरले दोस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर ट्रम्पलाई टोलीमा अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जनाएको छ ।

१९ वर्षिय ट्रम्पले हालसम्म अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका छैनन् । ८ टि ट्वान्टी खेलमा ट्रम्पले ९४ रन लिएका छन् । उनले अमेरिकामा आयोजना हुने मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सको प्रतिनिधित्व गरिसकेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । जनकपुरले आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा न्युजिल्याण्डका अलराउन्डर जिमी निशमलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । ट्रम्प एनपिएलमा अनुबन्ध हुने १२औं विदेशी खेलाडी हुन् ।

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडीयस प्रकार रहेका छन् :

पोखरा एभेन्लेजर्स : अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे र वेस्ट इन्डिजका एन्डसन फिलिप,

कर्णाली याक्स : पाकिस्तानका हुसेन तलात

सुदूरपश्चिम रोयल्स : स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेब

लुम्बिनी लायन्स : इङ्ग्ल्यान्डका विकेटकिपर ब्याटर टम मुर्स

काठमाडौं गुर्खाज : नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट

विराटनगर किंग्स : ओमानका कप्तान अकिब इल्यास

जनकपुर बोल्ट्स : जिमी निशम

चितवन राइनोज : दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लांग

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा जनकपुर लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।

जनकपुर बोल्ट्सको टोली

आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम र जोशुवा ट्रम्प