मिडियामा पत्र पठाउदै जिबी राईले भने- रवि र उनको पार्टीलाई पैसा दिदा डुबे (पत्रसहित)

काठमाडौँ, ९ कात्तिकः सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले रवि लामिछाने र उनको पार्टीलाई पैसा दिदा आफु डुबेको आरोप लगाएका छन् । जनआस्था साप्ताहिकलाई इमेल मार्फत पत्र लेख्दै राईले रवि लामिछाने र उनको पार्टीलाई पैसा दिदा दिदै आफु डुबेको बताएका हुन् ।

राईले नेपाल आएर अनुसन्धानका लागि सघाउन र बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको व्यहोराको पत्रमा सुरक्षाको व्यवस्था मिलाइदिन राज्यसँग आग्रह गरिएको छ ।

यस्तो छ जिबी राईले जनआस्था साप्ताहिकलाई पठाएको पत्र

नमस्ते म जिबी राईको तर्फबाट प्रेषित सन्देश,

अहिले सहकारीको विषयमा भएको अनुसन्धानले म खुशी छु । सहकारीको अनुसन्धान यसै दिशामा अगाडि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने छु । त्यो वातावरण बनाइदिनुहोला,जुन कुरा संसदीय समितिलाई पनि मैले सँदेश पठाएको थिएँ । 

म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो ।

लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस् । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब,धम्की सबै दिएका हुन् । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे ।  

शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन् । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ । याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले  तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले । 

केहीपछि तपाईंलाई गार्हो हुन्छ,मेरो नाम पनि जोडिन्छ,टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए । त्यो प्रस्ताव बानियाँ आफैले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ । पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे ।

उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए । मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ । पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे । बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ । 

जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् ।

उनले दिपक बोहरामार्फत केस अगाडि जाँदेन,तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने/तर्साउने गरे । अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस् । उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु । राज्यले सहयोग गरोस् ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।

इमेलबाट प्राप्त उक्त पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भइरहेको जनआस्था साप्ताहिकले जनाएको छ ।