वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

एमालेलाई पहिलो दल बनाउने ओलीको रणनीतिमा कांग्रेस बाधक, दलसम्बन्धी अध्यादेश किन रोकियो ? 

सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ गर्न जसरी प्रधानमन्त्री केपी शर्मा ओली इच्छुक थिएनन् त्यसरी नै कांग्रेस सभापति शेरबहादुर देउवा पनि दल विभाजनसम्बन्धी अध्यादेशका लागि सहमत थिएनन्। तर, परिस्थिति यस्तो बनिदियो कि कांग्रेसले बटम लाइन बनाएको सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गर्नैपर्ने दबाब बढ्यो। खासगरी कांग्रेस महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवाको चर्काे दबाबपछि देउवाले ओलीलाई भेटे। र, ओली पनि राजी भए। किनकी एमाले नेतृत्वको सरकार कांग्रेसको जगमा अडिएको छ।  कांग्रेसको माग सम्बोधन हुँदा आफ्नो मागमा पनि देउवा सहमत हुने आकलन ओलीले गरेका थिए। ओलीको रणनीति थियो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने। तर, लामिछाने पक्राउ परेपछि भने परिस्थिति फेरिएको छ।

https://barnanmedia.com/news/detail/200025/ 

कुलमानलाई बर्खास्त गर्न फाइल तयार, प्रचण्ड उत्साहित 

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने अन्तिम तयारी गरेको छ । प्राधिकरणमा बसेर सरकारविरुद्ध चलखेल गरेको र विपक्षी माओवादीलाई पोस्ने काम गरेको पाइएपछि उनलाई हटाउने तयारी भएको हो ।  ऊर्जा मन्त्री दीपक खड्काले कुलमानलाई हटाउनका लागि सम्पूर्ण तयारी पूरा गरेका छन् । उनलाई पदबाट बर्खास्त गर्न मन्त्री खड्काको निर्देशनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले फाइल तयार पारिसकेका छन् ।  कुलमानलाई हटाउने योजनाअन्तर्गत नै मन्त्री खड्काले बिहीबार प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाएका छन् । प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री अध्यक्ष हुन्छन् । कुलमानले विद्युत बक्यौता विवादमा ४९ वटा उद्योगको लाइन काट्ने तयारी गरेपछि मन्त्री खड्काले बिहीबार नै सञ्चालक समितिको बैठक बोलाएका हुन् । 

https://barnanmedia.com/news/detail/200026/ 

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति 

 कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।  बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

https://barnanmedia.com/news/detail/200111/ 

प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले 

प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले
धुलिखेल (काभ्रेपलाञ्चोक), ८ कात्तिकः नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले ग्रीनसिफ्ट अभियान नेपालको प्रत्येक स्थानीय तह र विद्यालयहरुमा पु¥याउनुपर्ने बताउनुभएको छ । इयूको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको आज यहाँ सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । राजदूत लोरेन्जोले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाले चाहे हरेक परिवर्तन सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, “युवा परिवर्तनका संवाहक हुन्, उनीहरुले चाहेमा जे कार्य पनि सम्मभव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धि नै एक मानक हो ।”

बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु एक करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गर्नुभएको हो ।

अवैध सुनसहित दुई भारतीय नागरिक न्युरोडबाट पक्राउ 

अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्युरोडबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कलकत्ता घर भएका ३५ वर्षीय प्रशान्तिज बेरा र ३० वर्षीय आनन्द साहु छन्।  उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडबाट बुधबार पक्राउ गरेको हो। उनीहरुबाट ११६.४५ ग्राम सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए। शङ्कास्पद तवरले न्युरोडमा हिँड्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीबाट बिल बिनाको उक्त सुन बरामद भएको थियो। पक्राउ परेकाहरूलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ।

श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा 

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो।  नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे। यससँगै अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन्। 

रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरूकाे कास्कीमा बैठक 

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरू अहिले कास्कीमा बैठक गरिरहेका छन् । शुक्रबार काठमाडौंको माइतीघर र पोखराको केही स्थान आन्दोलन गर्ने तयारीबारे जुट्न उपलब्ध जिम्मेवार सदस्यहरूको बैठक राखेको नेताहरूले बताएका छन् । रास्वपाका सांसद हरि ढकालका अनुसार शुक्रबारको आन्दोलन अझ व्यापक बनाउने गरी छलफल जारी छ । उनले भने, ‘हामी सहकारी पीडितलाई न्याय दिन्छौँ । र, हाम्रो पार्टी सभापतिलाई पनि न्याय दिलाएरै छोड्छौँ ।’

शिक्षा विद्या भट्टराईका सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक(सुचिसहित) 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेकी छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपलब्धिहरु सार्वजनिक गरेकी हुन् । मन्त्री भट्टराईले ४३ बुँदामा आफ्ना उपलब्धिहरु सार्वजनिक गरेकी हुन् । यस्ता छन् मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु

रुस भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा युक्रेनमा शान्तिको आग्रह 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको ब्रिक्स नेताहरूको बैठकमा युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ को आह्वान गर्नुभएको छ ।  उहाँ पुटिनले किएभमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभएको केही हप्तापछि सन् २०२२ अप्रिलयता पहिलो पटक रुसमा हुनुहुन्थ्यो ।“हामीलाई युक्रेनमा शान्ति चाहिन्छ । संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, अन्तर्राष्ट्रिय कानून र महासभाका प्रस्तावहरू अनुरूप न्यायपूर्ण शान्ति”, गुटेरेसले ब्रिक्स नेताहरूको गोलमेच बैठकमा भन्नुभयो । उहाँले मध्यपूर्वमा पनि शान्तिको आह्वान गर्दै गाजामा ‘तत्काल युद्धविराम’ र लेबनानमा ‘तत्काल शत्रुताको अन्त्य’ हुनुपर्ने बताउनुभयो ।

दुबईको १९२ केजी रोज वाटरको नमूनालाई आयात गर्न अस्वीकृति 

 कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुबईबाट ल्याउन खोजिएको १९२ केजी रोज वाटरको नमूनालाई आयात गर्न अस्वीकृति दिएको छ। कि फुड्स इन्टरनेशनल प्रा. लि., काठमाडौँले व्यावसायिक प्रयोजनका लागि दुबईबाट उक्त रोज वाटर नेपाल ल्याउन प्रयास गरेको थियो। तर, बबरमहल स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा आँखाले देख्न सकिने बाह्य पदार्थको उपस्थिति भेटिएपछि उक्त रोज वाटरलाई आयात गर्न अस्वीकृति दिइएको हो।विभागका अनुसार, सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सिया, पर्सा नाका हुँदै आएको रोज वाटरलाई बिरगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गरेको थियो। परीक्षणको नतिजा अनुसार रोज वाटरमा अशुद्धता भेटिएकाले विभागले उक्त रोज वाटरको प्रवेश अनुमति अस्वीकृत गर्दै भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको छ।

नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु 

 दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने व्यक्ति पक्राउ 

 सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिन पक्राउ परेका छन् । मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो । उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ । जमशेदपुरका तरकारी विक्रेता रहेका शेखले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए । मुम्बईका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार म्यासेज पठाउने व्यक्तिको खोजी गर्न तत्कालै अनुसन्धान थालिएको थियो ।

 एप्पलले आईफोन १६ उत्पादन किन घटायाे ?

अपेक्षा गरे अनुसार आईफोन १६ बिक्री नभएपछि एप्पलले उत्पादन घटाउने भएको छ । एप्पल विश्लेषक मिङ-चि कुओले मिडियममा पोस्ट राख्दै कम्पनीले उत्पादन घटाउन लागेको जानकारी दिएका हुन् ।  कुओका अनुसार कम्पनीले २०२४ को अन्तिम त्रैमासिकदेखि २०२५ को मध्यसम्म एक करोड युनिट फोन कटौती गर्न लागेको छ । कम्पनीले प्लस र प्रो मोडेल कम उत्पादन गर्ने रणनीति बनाएको बताइएको छ । २०२४ को अन्तिमसम्म एप्पलले आठ करोड ४० लाख युनिट फोन उत्पादन गर्ने बताइएको छ । यसअघि कम्पनीले आठ करोड ८० लाख युनिट उत्पादन गर्ने योजना बनाएको थियो । 

नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाउने विषयमा अध्ययन सुरु गरिएको बताउनुभएको छ ।  भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पाण्डेले नेपालको आकाशमा देखिने समस्याको कारण पत्ता लगाउन अध्ययन सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकाशलाई कसरी सुरक्षित गर्ने र गतिशील बनाउने भन्ने सन्दर्भमा अध्ययन भइरहेको छ । अध्ययनपछि बन्ने नीति र नीतिपछि बन्ने कानुन,  कानुनले निर्धारण गर्ने विभिन्न संरचना के हुन सक्छन भन्ने विषयले महत्व राख्छ ।” 

पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालको ४ गोल 

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली नेपालले फराकिलो अग्रता बनाएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा नेपालले ४–० को अग्रता बनाएको हो। नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारीले समान एक गोल गरे। 

कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ठकुरीेले भन्नुभयो, “राष्ट्रपतिज्यूको नेतृत्वमा कोप–२९ सम्मेलनमा उच्चस्तरीय र प्रभावकारी सहभागिता जनाउनका लागि सोहीअनुसारको तयारी गरिरहेका छौँ ।

अमेरिकी आक्रमण चेतावनीपछि श्रीलङ्काद्वारा तीन व्यक्ति पक्राउ 

श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकहरूमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ ।  “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारहरूलाई भन्नुभयो, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।”उहाँले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई लक्षित गर्ने कथित षड्यन्त्रको सिलसिलामा पक्राउ गरिएको जानकारी दिनुभयो ।

रवि र छविसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्नु :  रुपन्देही जिल्ला अदालत 

 रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको अदालत स्रोतले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको छ भने रवि पनि अहिले पोखरा नै छन् । उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।