रवि र छविकाे सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो।

प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए।

अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

कास्की प्रहरी प्रवक्ता एवं डीएसपी वसन्तकुमार शर्माले सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने बताए। ‘एउटै मुद्दामा अब तीनवटा अपराधमा अनुसन्धान हुन्छ,’ उनले भने।

संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ।