आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग कामविहीन

 मधेशमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ ।

आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग कामविहीन बनेको हो । आयोगका अध्यक्ष रामसहाय यादवले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आज बुझाउँदै स्रोतसाधन र जनशक्ति तथा कानुनको अभावमा काम गर्न नसकेको जानकारी दिनुभयो ।

सरकारले वितरण गर्ने बजेटको उपयोगिता तथा प्रशासनिक कार्यमा जनताको पहुँचवृद्धि गर्न र जनगुनासो सम्बोधन गर्न सो आयोग तीन वर्ष अगाडि स्थापना गरिएको थियो । आयोगका अध्यक्ष यादवले जिम्मेवारी सम्हालेको तीनवर्षमा सुशासन प्रवर्द्धनका कुनै काम गर्न नसकेको गुनासो गर्नुभयो । 

“आयोगको मुख्य उपलब्धि देखाउन नपाउँदा मेरो मन दुखी छ । प्रदेश सरकारले यो आयोग सक्षम होस भनेर नचाहेको कारण अहिलेसम्म हामीले काम गर्न नसकेका हौँ”, उहाँले भन्नुभयो ।

प्रदेशमा देखिएका बेथितिलाई न्यूनीकरण गर्न तथा सुशासन कायम गर्न आयोग तयार रहेको तर वर्तमान प्रदेश सरकारले आवश्यक स्रोत तथा साधन उपलब्ध नगराएको उहाँको भनाइ छ । आयोगमा प्राप्त उजुरीमाथि आवश्यक छानविन गर्ने तथा आवश्यक देखिएमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारीश गर्ने नीति जनलोकपाल आयोगको रहेको बताइएको छ ।

तीनवर्षमा आयोगमा कूल ४२ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ । जनशक्ति अभावमा हालसम्म कुनैपनि उजुरीमाथि अनुसन्धान गर्न नसकेको आयोगका अध्यक्ष यादवले जानकारी दिनुभयो । ३३ जना कर्मचारी दरवन्दी रहेको आयोगमा एक कम्प्युटर अपरेटर मात्र कार्यरत हुनुहुन्छ ।