दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई कर्मचारी पक्राउ

दाङमा दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई कर्मचारी पक्राउ परेका छन्।

सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर बलात्कार गरेको खुलेपछि दुईजना पक्राउ परेका हुन्।

गत असोज २४ गते पिङ खेल्न आएका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ।

दसैँको सम्मुखमा पिङ खेल्न आएका ती दुई बालिकालाई २९ न. ज्वालामाई गणमा कार्यरत उनीहरुले बलात्कार गरेको भन्दै स्थानीयले अरोप लगाएका थिए।

सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएर स्थानीयले बुधबार गणलाई घेराउ परेका गरेका थिए।यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक पटक आफन्तहरुले गणका एसपी रमेश थापालाई उजुरी गरेपनि ढाकछोप गर्न खोजिरहेका थिए।

असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण उनीहरु पक्राउ पर्न ढिलाई भएको थियो। तर, स्थानीयको आरोप पछि आरोप लागेका दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए। उनले घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिए।

यता, बलात्कार जस्तो विषयमा बेवास्ता गरेको भन्दै गणका एसपी थापा विवादमा परेका छन्।उनी सिरहाको एसपी हुँदा पनि विवादमा आएका थिए।

सिरहामा हुँदा उनी चढेको स्कारपियो गाडीले भारतीय भूमिमा भारतीय नागरिकलाई ठक्कर दिएर विवादमा आएका थिए। अहिले पनि आफ्नै कर्मचारीमाथि लागेको आरोपलाई ढाकछोप गर्न लागेर उनी विवादमा आएका हुन्।