गर्भपतन गरेर सडकमा भ्रुण फाल्ने दुई जना पक्राउ

ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रुण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

अनैतिक शारिरीक सम्पर्कबाट गर्भ बसेपछि गर्भपतन गराई सडकमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताउनुभयो । ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

मृत फेला परेका दुई महिनाको शिशु पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ । पोस्टमार्टम र डिएनए परीक्षणको रिपोर्ट आएपछि अनुसन्धान थप अघि बढ्ने प्रहरीले जनाएको छ । प्रहरीले आरोपितहरुको परिचय गोप्य राखेको छ ।