फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ ले तेस्रो हप्तामा पुग्दासम्म कति कमाए ?

विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा अघि बढेको छ । दशैँको फूलपातिका दिन असोज २४ गते रिलिज भएको यो एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शक घटेका छैनन् ।

दशैमा एकैसाथ तीन नयाँ चलचित्र ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये हलहरूमा छक्कापञ्जाले सबैभन्दा बढी शो पाएको थियो भने त्यसपछि १२ गाउँ र ज्वाइँ साबले । आजबाट तीनवटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् ।

व्यापारमा पहिलो दिनबाटै छक्कापञ्जा ५ र १२ गाउँको नेक टु नेक टक्कर थियो । बढी हलहरू पाएकाले सुरुवाति दिनहरूमा छक्कापञ्जाले धेरै कलेक्सन गर्न सफल भयो । तर, १२ गाउँमा दर्शकको उभार बेसी देखिएपछि हलहरूले सो चलचित्रलाई सो बढाउँदै लगे । आजको मितिमा आइपुग्दा ‘छक्कापञ्जा’ भन्दा ‘१२ गाउँ’ शो संख्या र कलेक्सन दुवैमा निकै अगाडि पुगेको छ ।

छक्कापञ्जाका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्रको व्यापार १५ करोड नजिक रहेको बताएका छन् । चलचित्रले सुरूमा पाएको शो खासै नघटेको र दर्शकको चाप पनि यथावत् रहेको उनको दावी छ । छक्कापञ्जा ५ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो ।

हलहरूबाट हुने आम्दानी चोखो मुनाफा हो । टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत हलले र बाँकी ५० प्रतिशत निर्माताले पाउने व्यवस्था छ ।

यता, ‘१२ गाउँ’मा भने अहिलेसम्म कुनै पनि नेपाली चलचित्रमा नदेखिएको दर्शकको भीड देखिएको छ । चलचित्रले मिडियाहरूमा राम्रो समीक्षा पाएको थिएन । दक्षिण भारतीय चलचित्रको भद्दा नक्कल गरिएको र कथावस्तु बकवास रहेको भनेर आलोचना खेपेको थियो । तर, दर्शकले भने १२ गाउँलाई निरन्तर साथ दिएका छन् । अहिले पनि चलचित्रले फुल अकुपेन्सी पाइरहेको छ ।

१२ गाउँका वितरक गोविन्द शाही हिजोसम्मको रिपोर्टअनुसार अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन भइसकेको बताउँछन् । शाहीका अनुसार पहिलो साताभन्दा दोस्रो सातामा शो धेरै थपिएकाले कमाइ पनि ह्वात्तै बढेको छ ।

यही रफ्तारमा जाँदा शनिबारसम्म यो चलचित्रले लाइफटाइम सर्वाधिक कलेक्सन गर्ने नेपाली चलचित्रको कीर्तिमान राख्ने पक्कापक्कीजस्तै देखिन्छ । नेपालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको कीर्तिमान ‘जारी’ को नाममा छ । २०८० सालमा वैशाखमा प्रदर्शनमा आएको उक्त चलचित्रले २५ करोडको लाइफटाइम विजनेस गरेको थियो । वितरक शाहीका अनुसार १२ गाउँ उक्त अंकभन्दा ३ करोडले मात्रै पछाडि छ ।

कयौं नेपाली चलचित्रको वितरणमा संलग्न उनी १२ गाउँमा दर्शकको आकर्षण देख्दा सुखद आश्चर्यमा परेका छन् ।

‘मैले अहिलेसम्म दर्शकको यस्तो फ्लो र कमाइको रफ्तार नेपाली चलचित्रमा देखेको थिइनँ,’ उनले भने, ‘नेपाली मात्र नभएर विदेशी चलचित्र पनि पहिलो तीन दिनपछि बिस्तारै खस्किन थाल्थे । तर, १२ गाउँको रौनक अहिले पनि हलहरुमा उस्तै नै छ ।’

हलहरूको अकुपेन्सीमा पनि अहिले १२ गाउँ हावी रहेको उनले बताए ।

‘सुरूमा छक्कापञ्जाको ब्रान्डले गर्दा हामीले कम शो पायौं । तर, अहिले छक्कापञ्जाभन्दा हाम्रो धेरै राम्रो शो छ,’ उनले भने ।

नेपालमा सफलतासँगै १२ गाउँको विदेशमा पनि उच्च डिमान्ड छ । विदेशमा भएको कमाइको आँकडा भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । एक्सन जनरामा बनेको यो चलचित्रमा विराज भट्ट र उनका छोरा समिर भट्टले प्रमुख भूमिका निभाएका छन् ।