सहकारीमाथि कुटपिटमा रास्वपाको कुनै संलग्नता छैन :प्रवक्ता मनिष झा

काठमाडौँ, ८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमाथि कुटपिटमा आफ्नो संलग्नता नरहेको बताएको छ।

पार्टीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका कार्यबाहक सह प्रवक्ता मनिष झाले केही राजनीतिक दल र तीनका आसेपासेले रास्वपालाई बद्नाम गर्नका लागि कुटपिटको आरोप लगाएको बताए।

सहकारी पीडितले रास्वपाका केही कार्यकर्ताले घरदैलो कार्यक्रमका नाममा कुटपिट गरेको पत्रकारको प्रश्नमा उनले रास्वपाको विरोध कार्यक्रमलाई मत्थर पार्नका लागि केही समूहले सुनियोजित ढंगले हामीलाई बद्नाम गर्न खोजेको बताए।

उनले भने, ‘सहकारी पीडितलाई यदि रास्वपाका कुनैपनि समर्थक वा कार्यकर्ता वा नेताले कुटपिट गरेका छन् भने उजुरी दिन र म आफैँले उजुरीमा हस्ताक्षर गर्छु। तर, जसले आरोप लगाए उनीहरुसँग रास्वपाविरुद्ध कुनै प्रमाण थिएन। त्यसकारण त्यो निराधार आरोप मात्रै हो।’