निर्देशक सन्तोष सेन र कलाकार दीपकराज गिरीबीच नयाँ विवाद शुरु

काठमाडौँ,८ कात्तिकः निर्माता तथा निर्देशक सन्तोष सेनले निर्माता तथा कलाकार दीपकराज गिरीबीच नयाँ विवाद शुरु भएको छ । गिरीले एक टेलिभिजन अन्तर्वार्तामा सेनलाई 'साइबर सेनाको कमाण्डर' भनेको विषयले दुवैबीचको विवाद सतहमा आएको हो ।

बुधबार बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो पोष्ट गर्दै निर्माता निर्देशक सेनले गिरीले लगाएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । साथै सेनले गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगले के पायो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्- 'एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउदैमा सिनेमा इन्डस्ट्री धानिँदैन । घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।' साथै उनले आफुले सधै पुरै सिनेमा उद्योगलाई हित र फाइदा हुने काम गरिरहेको दाबि गर्दै गिरीलाई आफ्नो दायराभन्दा बाहिर आएर फिल्म निर्माण गर्न र उद्योगमा योगदान गर्न आग्रह समेत गरेका छन् ।

उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने बताउँदै यो नेपाली फिल्मका दर्शकलाई समेत भनेको बताएका छन् । उनले गिरीले दर्शकहरूलाई साइबर सेना भनेर अपमान गरेको बताउँदै गिरीले भनेको कुरालाई प्रमाणित गर्नुपर्ने बताएका छन् ।

साथै सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’ मा रहेकाले आफ्नो समर्थन स्वाभाविक रुपमा उनलाई रहेको स्पष्ट गरेका थिए ।

सेनले गिरीलाई मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौँ महानगरमा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।

साथै १२ गाउँमा समिरले गरेको परफरमेन्सप्रति नेपाली सिनेमा क्षेत्र मनदेखि खुशी नभएको र उनलाई समर्थन नगरेको आरोप समेत लगाए ।