लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूकाे आज शपथग्रहण

काठमाडौँ,८ कात्तिकः लुम्बिनी प्रदेशमा थपिएका तीनजना मन्त्रीहरूले आज शपथग्रहण गर्दैछन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एकजना मन्त्रीलाई बुधवार मन्त्री पदमा नियुक्त गरेका थिए ।

कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई उनले मन्त्री नियुक्त गरेका हुन् । थपिएका तीनैजना मन्त्रीको शपथ आज हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उनीहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ ग्रहण गराउने छन् ।

बर्दियाबाट निर्वाचित कांग्रेसका तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नवलपरासीबाट निर्वाचन कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि वन मन्त्रालय रिक्त रहेको थियो । यसै गरी जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसबाट मन्त्री नियुक्त भएका तिमिल्सिना पहिलो चरणमै मन्त्री बन्ने सुचीमा थिए । तर उनलाई अन्तिम समयमा शपथ खुवाइएको थिएन ।

बुधबार सरकारमा तीन मन्त्री थपिए पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन । प्रदेशमा एक मन्त्रालय अझै रिक्त छ । अहिले ११ सदस्यीय मन्त्रिपरिषद् बनेकोमा यो प्रदेशमा १२ मन्त्रालय छन् । अहिले प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रिक्त छ । यो मन्त्रालय साना दललाई दिने तयारी मुख्यमन्त्रीको छ । तर मन्त्रालयमा दाबी गरिरहेका नागरिक उन्मुक्ति र लोसपाबाट कसलाई सरकारमा सहभागी गराउने भन्ने विषयमा मुख्यमन्त्री अनिर्णित छन् ।