पोखरामा ह्वात्तै बढ्याे कण्डमको बिक्री

पर्यटकीय नगरी पोखरा यतिबेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ छ । यहाँका होटल, रेष्टुरेण्ट, लाउन्ज र बारमा रमाउनेहरु दैनिकरुपमा थपिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउविरुद्ध ठूलो संख्यामा मानिसहरु पोखरा ओइरिएको बताइन्छ । त्यस्तै सहकारी पीडितहरुले पनि ठूलै संख्यामा नाराबाजी गर्दै आएका छन् ।अर्कोतर्फ पर्यटकको संख्या बढेसँगै बजारमा दैनिक उपभोग्य वस्तुको खपत बढ्नु स्वाभाविक हो । चिसोका कारण बिरामी भएर अस्पताल पुग्ने र औषधि किन्नेहरुको संख्या पनि उत्तिकै छ । 

त्यतिमात्र होइन, पछिल्लो तीन–चार दिनयता पोखरामा कण्डमको मागसमेत ह्वात्तै बढेको बताइन्छ । शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार कण्डम किन्न आउनेहरु अधिकांश आन्तरिक पर्यटक हुन् । आफ्नो पसलबाट दैनिक सरदर ६÷७ वटा कण्डम बिक्री हुने गरेकोमा पछिल्लो समय दैनिक ४०÷५० वटा बिक्री भइरहेको उनले बताए । 

‘पहिले गोदामबाट पाँच प्याकेट ल्याउँथे, त्यो सक्न मलाई दुई हप्ता लाग्थ्यो’, उनले भने, ‘तर गत शनिबारदेखि हिजोसम्म ती सबै सकियो, आज फेरि गोदामबाट मगाएको छु ।’

रोहितका अनुसार एउटा प्याकेटमा १० वटा कण्डम हुन्छ । ‘पर्यटकको संख्या ह्वात्तै बढेको देखियो है !’, भन्ने जिज्ञासामा उनले सुनाए, ‘पर्यटक त पहिले पनि आउँथे, तर कण्डम किन्ने अधिकांश विदेशी हुन्थे । यस पटक स्वदेशी नै स्वदेशी छन् ।’

त्यस्तै, पृथ्वी चोकमा फार्मेसी सञ्चालन गर्दै आएका विवेक पण्डितले पनि केही दिनयता कण्डम किन्ने ग्राहकको संख्या बढेको सुनाए । आफ्नो पसलबाट एन्टिबायोटिक, एमोक्सीलिन, कोड्री मोक्साजोल, एजिट्रो माइसन, सेट्रयाकजोन, डिकोल्ड, पारासिटामोल, साल्बीटामोल र कण्डम दैनिकरुपमा ५/७ वटा बिक्री हुने गरेको उनको भनाई छ । 

उनले पनि बितेको तीन दिनयता कण्डम बिक्री बढेको जनाउँदै अहिलेसम्म सात प्याकेट बेचिसकेको जानकारी दिए । ‘भर्खर जाडो शुरु हुँदैछ, विदेशी पर्यटक अझै त्यति धेरै आइपुगिसकेका छैनन’, उनले भने, ‘दुई–तीन दिनमा मैले जति कण्डम बेचेँ, ती किन्ने सबै नेपाली नै हुन् ।’

‘कस्तो प्रकारका ग्राहक बढी आउँछन् ?’ भन्ने प्रश्नमा जवाफ दिए, ‘म ग्राहकको प्रकृति त छुट्टाउन सक्दिनँ ।’ पण्डितले अप्रत्यक्षरुपमा भने, ‘दिउँसो बजारमा देखिने मान्छे नै हुन् भनेर ठोकुवा गर्न सकिन्न । तर पनि मलाई धेरै चासो छ्रैन । मेरो व्यापार हो, सामान बिक्री भइरहेको छ, यसमै खुशी छु ।’

रोचक संयोगको रुपमा रास्वपाले विरोध प्रदर्शनका लागि पोखरा पुगेका आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा घुमघामको तस्बिर सेयर नगर्न कडा निर्देशन दिएको छ । नेता–कार्यकर्ता दिउँसो एकैछिन प्रदर्शनमा झुल्किने र त्यसपछि टाप कसेको जानकारी पाएपछि पार्टीले यस्तो निर्देशन दिएको बुझिएको छ ।