कुलमानलाई बर्खास्त गर्न फाइल तयार, प्रचण्ड उत्साहित

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने अन्तिम तयारी गरेको छ । प्राधिकरणमा बसेर सरकारविरुद्ध चलखेल गरेको र विपक्षी माओवादीलाई पोस्ने काम गरेको पाइएपछि उनलाई हटाउने तयारी भएको हो । 

ऊर्जा मन्त्री दीपक खड्काले कुलमानलाई हटाउनका लागि सम्पूर्ण तयारी पूरा गरेका छन् । उनलाई पदबाट बर्खास्त गर्न मन्त्री खड्काको निर्देशनमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले फाइल तयार पारिसकेका छन् । 
 

कुलमानलाई हटाउने योजनाअन्तर्गत नै मन्त्री खड्काले बिहीबार प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाएका छन् । प्राधिकरणको सञ्चालक समितिमा ऊर्जामन्त्री अध्यक्ष हुन्छन् । कुलमानले विद्युत बक्यौता विवादमा ४९ वटा उद्योगको लाइन काट्ने तयारी गरेपछि मन्त्री खड्काले बिहीबार नै सञ्चालक समितिको बैठक बोलाएका हुन् । 

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगलाई बक्यौता तिर्न दिएको समय बिहीबार नै सकिँदै छ । अहिलेसम्म कुनै पनि उद्योगले बक्यौता तिरेका छैनन् । बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने प्राधिकरणको तयारी छ । तर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री एवं प्राधिकरणका अध्यक्ष दीपक खड्का यस तयारीको विपक्षमा छन् ।  

मन्त्री खड्काले बक्यौता नतिर्ने उद्योगको लाइन तत्काल नकाट्ने निर्णय गराउने तयारी गरेका छन् । संसदको सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको र चाडबाड (तिहार, छठ आदि) को बेला लाइन काट्न नहुने सरकारको धारणा छ । तर कुलमान भने सरकारको निर्णय मान्ने पक्षमा छैनन् ।

सरकारको निर्णय नमानेमा त्यसैलाई आधार बनाएर हटाउने मन्त्री खड्काको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बक्यौता नतिर्ने उद्योगहरूका पक्षमा वकालत गर्दै आएका छन् । यसअघि गत साउन ४ गते प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बक्यौता नतिर्ने ६ वटा उद्योगको लाइन जोड्न दबाब दिएका थिए । उनकै दबाबमा सञ्चालक समितिले निर्णय गरी ती उद्योगको लाइन तीन महिनाका लागि जोडिएको थियो । उक्त तीन महिनाको म्याद पनि बिहीबार सकिँदै छ।

गत असोज २४ गते फूलपातीका दिन प्राधिकरणले एक सूचना प्रकाशित गरी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गर्दै सो समयभित्र नबुझाए कानुनी प्रक्रिया थालिने चेतावनी दिएको थियो । विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
यसैबीच कुलमानलाई १५ बुँदे स्पष्टीकरण सोधिएको १५ दिने म्याद पनि बिहीबार नै सकिँदै छ । तर कुलमानले बुधबार राति अबेरसम्म पनि स्पष्टीकरण बुझाएका थिएन् । सरकारले सोधेको स्पष्टीकरणको जवाफसमेत नदिएपछि मन्त्रि खड्का थप रुष्ट छन् । स्पष्टीकरणको जवाफ पनि नदिएको र सरकारको नीति अवज्ञा गरेको आधारमा उनलाई पदबाट बर्खास्त गर्ने तयारी भएको मन्त्रालय स्रोतले बताएको छ । 

यसअघि मन्त्री खड्काले दुईजना सञ्चालकलाई हटाउन खोज्दा अदालतले पुनर्स्थापित गरिदिएको थियो । कुलमानले पनि आफूलाई हटाउँदा अदालतले फर्काइदिने अपेक्षा गरेका छन् । साथै आफ्ना पक्षमा नाराजुलुस गर्ने जमात पनि उनले तयार गरिसकेका छन् । उस्तै परे प्राधिकरणका माओवादी कर्मचारीलाई आन्दोलनमा उतार्ने र आउँदो तिहारमा सहर नै अन्धकार पारिदिनेसम्मको तयारी भएको बुझिएको छ । कुलमान नहुँदा लोडसेडिङ सुरु भएको सन्देश दिन माओवादी कर्मचारीहरुले काम थालिसकेका छन् ।

उता प्रचण्ड भने कुलमानलाई हटाउने तयारीलाई लिएर निकै उत्साहित देखिएका छन् । यो सरकारले कुलमान हटाउँदा ओली अलोकप्रिय बन्ने र आफूले सडकमा गरेको कार्यक्रममा मान्छे थपिने उनको आस छ । कात्तिक १० गते माओवादीले जनसभा गर्ने भनेको छ । उक्त सभामा मान्छेको उपस्थिति पातलो हुने हो कि भन्ने चिन्ता प्रचण्डले गरिरहेका छन् । कुलमानलाई यही समयमा हटाउने हो भने आफ्नो पक्षमा जनमत बढ्ने र सडकमा लाज ढाकिने अपेक्षा प्रचण्डले गरेका छन् । अब प्रचण्डको सडक सभामा मान्छे बढाउने काम ओलीले तत्कालै गर्छन् कि कुलमानका सबै बदमासीको फाइल अख्तियारमा पठाएर कानुनी कठघरामा उभिन बाध्य पार्छन् ? त्यो भने ओलीको विवेकमै भर पर्नेछ ।