म कमेडीमा सुहाउँछु जस्तो मलाई लाग्दैन, ‘छक्का पञ्जा’ टिममा फिट हुँदिन : समीर भट्ट

 विराज भट्टका छोरा समीर भट्टको पहिलो चलचित्र नै सुपर हिट भएको छ । फूलपातीको अवसर पारेर रिलिज भएको विराज भट्ट निर्देशित सिनेमा ‘१२ गाउँ’बाट समीरले नेपाली रजतपटमा डेब्यु गरेका थिए । उनको डेब्यु सिनेमा नै ब्यापारिक रुपमा हिट भयो ।

आफ्नै बुवाको चलचित्रबाट डेब्यु गरेका समीरको ‘१२ गाउँ’बाट अभिनयको तारिफ भएको छ । उनले १० वर्षदेखि चलचित्रका लागि मुम्बईमा बसेर तयारी गरेका थिए । धेरै लिजेन्ड कलाकारका छोराछोरीले सिनेमामा डेब्यु गरे पनि पहिलो सिनेमाबाट सफलता पाएको विगत नेपालमा कमै छ । तर समीरले भने डेब्युबाटै सफलता पाएका हुन् ।

पहिलो फिल्ममै हिटको स्वाद चाखेका समिर हाल सन्तोष सेनको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘बलिदान’को छायांकनमा व्यस्त रहेका छन्, जसको दोस्रो चरणको छायांकन छिट्टै सुरु हुने तयारीमा छ ।यता, आफ्नो सिनेमा हेर्ने दर्शकसँग साक्षत्कार गर्न हल-हल पुगेका बेला सञ्चारकर्मीले समिरलाई ‘छक्का पञ्जा’ टिमबाट कुनै सिनेमाको अफर आयो भने गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए ।

जसको जवाफमा समिरले आफू ‘छक्का पञ्जा’को टिममा फिट नहुने बताए । उनले भने, ‘म भयङ्कर कमेडीमा सुहाउँछु जस्तो मलाई लाग्दैन, यो मेरो कमी हो कलाकारका रुपमा । माग्ने बुढा, दीपकराज गिरीहरूले जस्तो गर्नुहुन्छ नि, त्यस्तो सायद मलाई नसुहाउला, त्यही भएर उहाँहरूको चलचित्रमा म फिट हुँदिन होला ।’

आफूलाई कमेडी जनरामा त्यति सुहाउने नगरेको बताउँदै समिरले मुख्य रूपमा एक्सन चलचित्रहरूमा नै केन्द्रित हुने संकेत गरे । उक्त भनाइलाई बुझ्ने हो भने उनको रुचि एक्सन सिनेमातिर तत्कालका लागि छैन प्रस्ट देखाएको छ ।

दशैंको अवसरमा समिर भट्ट अभिनित ‘१२ गाउँ’ दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ तथा जितु नेपाल अभिनित ‘ज्वाइँ साब’सँगै प्रदर्शनमा आएका हुन् । तीनवटै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् ।