अस्पताललाई १४ लाखको स्वास्थ्य सामग्री प्रदान

बर्दिबास नगरपालिकाले नगर क्षेत्रभित्रका अस्पताललाई रु १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

स्वास्थ्य सामग्री तथा उपकरण अभावमा बिरामीको उपचार प्रभावित भइरहेको विषयलाई मध्यनजर गर्दै नगर प्रमुख प्रह्लाद क्षेत्रीले अस्पताल व्यवस्थापन समितिलाई नगरपालिकामै बोलाएर रु १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको हो ।
    
उहाँले बर्दिबास अस्पतालमा अत्यावश्यक इसिजी मेसिन थान–१, सेन्ट्रिफ्युज मेसिन थान–१, बिरामी शय्या थान–४, मोबाइल थर्मोकोगुलेटर थान–१, मेडिकेसन स्टेण्ड थान–१, सार्पबिन थान–१०, निडल कटर थान–१०, कार्डियोकोग्राफी मेसिन–१ सेट, डेफिब्रिलेटर थान–१, पोट एनालाइजर–१ सेट, सक्सन मेसिनथान–१, अटोस्कोप थान–१, बीपीसेट थान–५ लगायतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।
    
बर्दिबास अस्पतालमा विगत केही दिनदेखि स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्य सेवा प्रभावित हुन थालेपछि अस्पताल व्यवस्थापन समितिले नगरपालिकाका प्रमुख क्षेत्रीसँग समस्या राखेका थिए । 

प्रमुख क्षेत्रीले बर्दिबास अस्पतालमा उपचारका लागि आउने बिरामी अब स्वास्थ्य सामग्री अभावमा उपचारबाट वञ्चित हुने अवस्था नआउने बताउनुभयो ।